गरीबको दशैं : ‘चाडबाड आउँछन्, ऋणको भारी बोकाएर जान्छन्’

  असोज १७, २०७९

काठमाडौँ, असोज १७ : सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।

काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उहाँले भन्नुभयो, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”

बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउनुहुन्छ । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उहाँले भन्नुभयो, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”

श्रम गरेर जुटाएको पैसा घर खर्च र छोरीको पढाइमै सकिने तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “मासु किलोको एक हजार चार सय छ, ज्याला एक हजार तीन सय छ । अनि दशैँ आउँदा हर्ष मान्नु नै के छ र !”

दाङको दङ्गीशरण गाउँपालिका–७ की ५६ वर्षीया लक्ष्मीकुमारी चौधरी र दोलखा मैनापोखरीकी ३१ वर्षीया सुशीला खड्काको दैनिकी पनि श्रमिक तामाङको भन्दा फरक छैन । चौधरी निर्माण मजदुर हुनुहुन्छ । खड्का डोकोमा तरकारी बेच्नुहुन्छ ।

उहाँहरूलाई दशैँले छोएको छैन । चौधरीका एक छोरा विदेशमा हुनुहुन्छ । बुहारी नभएकाले दुई नातिनातिनीको हेरचाहको जिम्मा उहाँकै काँधमा छ । उहाँले भन्नुभयो, “विदेश भनेर के गर्नु पैसा पठाउँदैन । बुहारी बितेपछि नातिनातिनी दिएर काठमाडौँ आएको सात वर्ष भयो । उनीहरूलाई भात खुवाउने पैसा निकाल्न मुस्किल छ, केको दशैँ ?”

चौधरीलाई दशैँ मनाउन मनै नलाग्ने चाहिँ होइन । नातिनातिनीका मुहारमा खुसी दिन पनि उहाँ ठेकेदार र अरू श्रमिक साथीसँग ऋण मागेर दशैँको जोहो गर्नुहुन्छ । दिनभरि बेल्चा हानेको र सिमेन्ट बोकेको पैसाले दैनिक गुजारा हुन मुस्किल छ । उहाँले भन्नुभयो, “नातिनातिनीले उनीहरूका साथीको घरमा दशैँ मनाएको देख्छन्, मेरै कोठा आसपासमा बस्नेले पनि मनाउँछन् । साना बच्चालाई रहर लाग्छ, पैसा छैन भनेर भएन ।”

काठमाडौँको मूलपानीमा भाडाको कोठामा बस्ने खड्का सागसब्जी बेचेर घर खर्च जोहो गर्नुहुन्छ । सडकको पेटीमा राखेर सागसब्जी बेच्न काठमाडौँ महानगरले निषेध गरेपछि उहाँको लगानी उठ्न छाडेको छ । उहाँले भन्नुभयो, “सटर लिएर पसल राख्न दुई लाख रुपियाँभन्दा बढी लाग्छ, भाडा उत्तिकै महँगो छ । यहाँ बिहान–बेलुका खाने सामान जुटाउन गाह्रो छ । दशैँ भनेर के गर्नु !”

मूलपानीदेखि चाबहिल र मित्रपार्कसम्म आएर डोकोमा ल्याएको सागसब्जी बेचेर फर्किंदा ९ बज्छ । उहाँका अनुसार कहिलेकाहीँ सागसब्जी बिक्री नहुँदा लगानीको पैसासमेत उठ्दैन । उहाँले भन्नुभयो, “३०–४० रुपियाँ मुठा साग बेचेर दशैँ खर्च उठ्दैन । राहत कतैबाट छैन । पैसा नहुनेको समस्या उस्तै त हुन्छ, दशैँ नआओस् जस्तो पनि लाग्छ ।”

तपाईको प्रतिक्रिया