दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

  असोज १६, २०७९

धनगढी, असोज १६ : नेपालीको महान् चाड दशैं–तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाका दिनसम्म दैनिक चार–पाँच सय नेपालीहरू घर फर्कने गरेका थिए । सोपछि फूलपाती वा सप्तमीसम्म यसअघि दैनिक तीन हजारसम्म नेपालीहरू घर फर्कने गरेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरले बताउनुभयो ।

भारतको गौरीफन्टा र नेपालको धनगढी अर्थात् त्रिनगर नाकाबाट अधिकांश नेपाली फर्किरहेका छन् । घर फर्किनेमा अधिकांश दशैंपछि फर्किने बताउँछन् । केही मात्र तिहारपछि फर्किने बताएका छन् । “दशैंसम्मको मात्र छुट्टी पाएको छु त्यसैले २२ गतेतिर फर्किने योजनामा छु” कैलाली गोदावरी नगरपालिकाका जैसिंह नेपालीले बताउनुभयो ।

भारतको पुनाबाट आउनुभएका डोटीका लोकबहादुर बोहरा भने तिहार मनाएर फर्किने योजनामा हुनुहुन्छ । “मैले अर्को साथीलाई यो समयका लागि पालो बसाएर आएको छु” उहाँले भन्नुभयो, “अर्को पटक त्यो साथी घर फर्किन पाउने व्यवस्था मिलाएका छौँ ।” भारत चेन्नइको एक क्याम्पसमा कार्यरत वीरबहादुर बोहराले पनि एक महिनाको छुट्टीमा घर आएको बताउनुभयो । छुट्टीपछि काममा फर्किने उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा लिन मान्दैनन्
भारतबाट आउनेहरूको विवरण नेपाल प्रहरीले सङ्कलन गरिरहेको छ । नाम, ठेगाना, आएको र जाने ठाउँको नाम लेखिसकेपछि स्वास्थ्य सेवा लिन आग्रह गरिन्छ । “तर धेरैले सो सेवा लिन मान्दैनन् र सिधै गन्तव्यतिर लाग्छन्” धनगढी उपमहानगरपालिकाबाट खटिनुभएका अहेव दिनेश ठकुल्लाले बताउनुभयो ।

भारतीय ब्यारियर कटेपछि नेपाली सुरक्षाकर्मीले नजिकै स्थापना गरिएको प्रहरी डेस्कमा नाम लेख्न र अर्को स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा लिन आग्रह गर्नु भए पनि अधिकांशले बेवास्ता गर्ने गरेको बुझिएको छ । प्रहरी र स्वास्थ्यकर्मीको आग्रहमा केही यात्रुले मात्र आफ्नो विवरण टिपाउन तयार हुने गरेको छन् त्यहाँ खटिएका कर्मचारीको भनाइ छ ।

स्वास्थ्य सेवा हेल्प डेस्कमा धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय र फाया नेपाल लगायतका गैरसरकारी क्षेत्र संस्थाको समन्वयमा कोभिडको पहिलो, दोस्रो र बुस्टर खोप लगाउने व्यवस्था रहेको धनगढी उपमहानगरपालिकाबाट खटिएका अहेव ठकुल्लाले बताउनुभयो ।

भारतबाट आएकाहरूको कोरोना, डेुंग, मलेरिया र एआइभी–एड्स र टिभी परीक्षण गर्ने निःशुल्क व्यवस्था मिलाइएको छ । सुविधा बारेको जानकारी मुख्य सडकमै दिने व्यवस्था मिलाइएको छ । सीमा क्षेत्रमा बिहान ६ बजेदेखि राति ८ बजेसम्म स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । स्वास्थ्य हेल्प डेस्कमा दैनिक १५० जनासम्मले कोरोना खोप लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया