गोधुली साँझमा पिङ खेलेर रमाउँदै स्थानीय बालबालिका

  असोज १६, २०७९

कपिलवस्तु, असोज १६ : अस्ताउन लागेको सूर्य । दिनभरको घाम डुब्न लाग्दाको क्षितिज । गोधुली साँझमा बालबालिका लिङ्गे पिङ खेल्दै रमाएका छन् । चचहुई गर्दै पिङ मच्चाउँदै आकाश छुन खोज्दाको निकै रमणीय महसुस भएको बालबालिकाको भनाइ छ ।

दशैंको माहौल सुरु भएपछि कपिलवस्तुको बुद्धभूमि –१ गोरुसिङ्गे, वडा ४ बुड्ढी र डावरा, बाणगंगा नगरपालिकाको जितपुर, बनगाई (लक्ष्मणघाट), तौलिहवा सागरटोल, सशस्त्र प्रहरी २८ नम्बर गणमा लिङ्गे पिङ स्थापना गरिएको छ ।

बाणगंगा नगरपालिका ८ बनगाईमा राखिएको लिङ्गे पिङ खेल्न बालबालिका पालो कुरेर बसेका हुन्छन् । “नयाँ लुगा लगाउन, जुत्ता किन्न, मिठो खानेकुरा खान अरुबेला पनि पाउने भएपनि पिङ खेल्नका लागि दशैं नै कुर्नपर्छ । सररर चचहुई गर्दै पिङ मच्चाउन निकै रोमाञ्चक अनुभूति हुन्छ” स्थानीय विद्यार्थी पदम भुसालले बताउनुभयो ।

स्कुल बिदा भएकाले बालबालिका बिहान खाना खाएपछि पिङ भएको ठाउँमा बालबालिकाहरू झुम्मिन पुग्छन् । केहीले पालो मिच्दै र केही पालो कुरेर पिङ खेल्छन् । दशैंको बेला एक पटक आकाश छुनुपर्छ भन्ने मान्यता रहेकाले सशस्त्र प्रहरी गणभित्र लिङ्गे पिङ स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले बताउनुभयो ।

सशस्त्र प्रहरीले हरेक दशैंमा पिङ बनाउँदै आएको छ । पिङ बनाउने संस्कृति हराउँदै गएपछि बुद्धभूमि –२ गोरुसिङ्गे दुर्गा मन्दिरमा स्थानीय युवा मिलेर दोस्रो पटक लिङ्गे पिङ निर्माण गरिएको युवा युवा क्लबका अध्यक्ष सद्धाम पाखियाले बताउनुभयो । दशैंको लिङ्गे पिङ, चंखे पिङ्ग खेल्ने तथा चङ्गा उडाउने चलन पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको कतिपयको भनाइ रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया