चारवटा युक्रेनी राज्य रुसमा विलय भएको घोषणा

  असोज १५, २०७९

मस्को, असोज १५ : रुसले युक्रेनका चारवटा राज्यहरूलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सातमहिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको मस्कोले घोषणा गरेको हो ।

युक्रेनको पूर्वीदक्षिणी भूभागहरू दोनेत्स्क, लोहान्स्क, जापोरिजिया र खेर्सनलाई रुसले औपचारिक रूपमा गाभेको छ । क्रेमलिनमा आयोजित औपचारिक कार्यक्रममा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले एक दस्ताबेजमा हस्ताक्षर गर्नुहुँदै ती भूभागलाई रुसमा गाभेको घोषणा गर्नुभयो ।

तीन दिन अघि ती क्षेत्रमा भएको जनमत सङ्ग्रहपछि रुसी भाषी बाहुल्य वा रुस समर्थित विद्रोहीको कब्जामा रहेको ती भूभागहरू रुसमा विलय गरिएको हो । ती भूभागहरू रुसमा विलय गरेपछि राष्ट्रपति पुटिनले ती चार क्षेत्रका जनता सधैँका लागि रुसी जनता भएको घोषणा गर्नुहुँदै ती क्षेत्रको सुरक्षा रुसले गर्ने बताउनुहुँदै युद्धविराम गर्न युक्रेनलाई आह्वान गर्नुभयो ।

सन् २०१४ मा विलय गराइएको क्रिमियासँगै ती भूभागलाई रुसले आफ्नो कब्जामा राख्न सके करिब एकलाख ३६ हजार वर्गकिलोमिटर (२२ प्रतिशत भन्दा बढी) हुने बताइएको छ । याे भूभाग नेपालकाे क्षेत्रफल (एकलाख ४७ हजार १८१ वर्गकिलोमिटर) भन्दा सानाे हुन्छ ।

यस्तो घोषणापछि युक्रेन, पश्चिमी शक्ति राष्ट्रहरू र संयुक्त राष्ट्र सङ्घले रुसी कदमको निन्दा गरेको छ । फेब्रुअरी २४ देखि एकतर्फी रूपमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलापछि सबैभन्दा ठूलो निन्दनीय कदम भएको पनि ती देशहरूले आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले रुसमा नयाँ राष्ट्रपति चयन भए मात्र रुससँग शान्ति वार्ता गर्ने दोहोर्‍याउनुभयो ।

यसैबीच, रुसमा विलय भएका ती भूभागहरूमा रुसी टेलिकम र रुसका टेलिभिजनहरू प्रसारण गरिएका छन् । ती भूभागहरूमा रुसी मुद्रा रुबल चलाउन थालिएको छ । स्थानीय विद्यालयहरूमा युक्रेनी पाठ्यपुस्तकहरू हटाएर रुसी पाठ्यपुस्तक पढाउन थालिएका छन् ।

तपाईको प्रतिक्रिया