जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

  असोज ०९, २०७९

बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी ‘युएसबी’ सेवाले सोमबार नागोया र त्यसपछि ओशाका सहरमा वृत्तचित्र प्रदर्शन गरिने जनाएको छ ।

“जापानपछि बेलायत, हङकङलगायत देशमा च्यारिटीस्वरूप प्रदर्शन हुँदैछ”, कम्पनीका निर्देशक आकाश थापाले भन्नुभयो, “प्रदर्शनबाट बचेको पैसा नेपालमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गर्ने सोच छ ।” टिकट काटेर वृत्तचित्र हेर्न आएका दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको उहाँको भनाइ छ ।

अध्ययन र पेसाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्ष्य गरी वृत्तचित्र प्रदर्शनमा आएको हो । धेरै गलकोटे भएको देशमध्ये जापान पनि एक हो । गलकोटको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक पक्षलाई दृश्य र ध्वनिमार्फत वृत्तचित्रमा उतारिएको निर्देशक थापाले बताउनुभयो ।

“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गरिएको छ ।”

कम्पनीले एक वर्ष लगाएर वृत्तचित्र तयार गरेको थियो । गलकोटलाई देश–विदेशमा चिनाउन र पहिचान स्थापित गर्न वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोटको पर्यटन प्रवद्र्धनका दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो ।

बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास छ । बागलुङको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ ।

पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, आधुनिक खुला मूर्तिकला सङ्ग्रहालय, राम्चेढुङ्गा, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ । विकास गतिविधिले गलकोट सहरोन्मुख बन्दै गएको छ ।

असी मिनेटको उक्त वृत्तचित्र निर्माणमा झन्डै रु ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ । तीन वर्षअघि वृत्तचित्र निर्माण गरिए पनि कोभिड–१९ महाव्याधिका कारण ढिलो गरी प्रदर्शनमा आएको हो ।

तपाईको प्रतिक्रिया