इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ

  असोज ०९, २०७९

तेहरान, असोज ९ : ‘नियम विपरित हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रि–एजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन् ।

अल जजिराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका बेला विशेषज्ञ प्रहरी इकाइले उहाँलाई पक्राउ गरेको थियो । हिरासतमा रहँदा केही समयपछि उहाँलाई हृदयाघात भएको र तत्काल आकस्मिक सेवाको सहयोगमा अस्पताल लगिएको थियो । उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

तस्निम समाचार एजेन्सीका अनुसार इरानी प्रहरीले एक हप्ताअघिदेखि सुरु भएको प्रदर्शनयता ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । इरानका राष्ट्रपति इब्राहिम रायसीले देशको सुरक्षा र शान्तिमा खलल पु¥याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गर्नुभएको छ ।

इरानको दोस्रो ठूलो शहर मशादमा प्रदर्शनकारीहरूद्वारा मारिएका एक बासिज मिलिशियाका परिवारसँग फोनमार्फत भएको कुराकानीमा रायसीले ‘विरोध र सार्वजनिक व्यवस्था र सुरक्षामा खलल” बीच भिन्नता देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान अशान्तिलाई ‘दङ्गा र दुष्टता’ को रूपमा निन्दा गर्नुभयो ।

शुक्रबारदेखि राजधानी तेहरानसहित देशभरका कम्तीमा ४० शहरमा प्रदर्शन भइरहेका छन् र प्रदर्शनकारीले महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका साथै हिजाब अनिवार्य लगाउनुपर्ने माग गरेका छन् ।

सुरक्षा फौजसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । यसअघि शनिबार इरानी सुरक्षा बलको कारबाहीमा मृत्यु हुनेको आधिकारिक संख्या १७ बाट बढेर ३५ पुगेको बताइएको थियो । तर, ओस्लोस्थित इरान मानव अधिकारका अनुसार सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

‘द टाइम्स अफ इजरायल’का अनुसार अमिनीको मृत्युबारे रिपोर्टिङ गर्ने सुधारवादी अखबार शार्गका निलोफर हामेदीसहित अधिकारकर्मी र पत्रकारलाई सुरक्षा फौजले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया