निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नुपर्छ : प्रहरी प्रमुख

  असोज ०९, २०७९

चितवन, असोज ९ : नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताउनुभएको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै शान्तिपूर्णरुपमा सम्पन्न गर्न आआफ्नो ठाउँबाट लाग्न निर्देशन दिनुभयो ।

आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिँदै उहाँले आम प्रहरीले आचरण, इमान्दारिता र निष्ठामा ख्याल गर्नुपर्ने बताउनुभयो । आइजिपीको कार्यालयमा पाँच सय एक दीक्षित भएका थिए ।

हरेक अवस्थामा सम्यमता अपनाएर काम गर्नुपर्ने भन्दै उहाँले कर्तव्य निष्ठ भएर कार्य क्षेत्रमा लाग्नुपर्छ भन्नुभयो । हरेक काम कारबाही व्यावसायिक, पारदर्शी र नागरिकका पक्षमा हुनुपर्ने भन्दै उहाँले सबैको भरोसा र आशाको केन्द्र प्रहरी बन्नुपर्ने बताउनुभयो । सो अवसरमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिमसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो ।

शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दिप भण्डारीले दीक्षित भएका प्रहरी नायब निरीक्षकलाई शपथ ग्रहण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया