माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका : प्रचण्ड

  असोज ०८, २०७९

काठमाडौँ, असोज ८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल ग¥यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।”

माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो¥याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।” घटनाक्रमले के साबित ग¥यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उहाँले उल्लेख गर्नुभयो ।

जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उहाँको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो ।

“यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग-यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग-यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड–बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।”

“बाबुराम–प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।” संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो । उहाँले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताउनुभयो ।

नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौँ ।”

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया