कलाकार शाहको मुद्दाको सुनुवाइ असोज २६ गते हुने

  असोज ०७, २०७९

तनहुँ, असोज ७ : स्थगित भएको अभिनेता पल शाहको मुद्दा सुनुवाइको मिति तोकिएको छ । दशैंपछि असोज २६ मुद्दाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर तनहुँ कारागारमा थुनामा रहेका अभिनेता शाहको मुद्दाको सुनुवाइ असोज २ गते हुने भनिएको थियो । न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना बिदामा भएकोेले सो दिन पनि स्थगित भएको थियो।

यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो। तर न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ। चिट्ठा थुत्ने क्रममा बिदामा रहेका न्यायाधीशको नाम परेपछि यसअघि भदौ १५ र असोज २ गतेको सुनुवाइ स्थगित भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले उहाँलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ।

तपाईको प्रतिक्रिया