जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते

  असोज ०६, २०७९

मकवानपुर, असोज ६ : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

बस काठमाडौंबाट वीरगन्जका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन् ।

मृतक दुईको सनाखत
जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुईको सनाखत भएको र बाँकी पाँच जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

हालसम्म बारा जिल्ला निवासी अन्दाजी वर्ष ३३ की अञ्जुला मिया ठकुराई र नुवाकोट जिल्ला स्थायी घर भई हाल रौतहटको गौरमा कार्यरत सुरक्षाकर्मी अन्दाजी वर्ष ३४ का रघुराज न्यौपानेको मात्रै सनाखत भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

आज दिउँसो काठमाडौँबाट वीरगञ्जका लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनुभएका २५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३२ जना सवार हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया