दिगो विकासका लागि सामाजिक संस्थाको भूमिका आवश्यक : प्रधानमन्त्री

  असोज ०६, २०७९

काठमाडौँ, असोज ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभयो ।

त्रिचालिसौँ सामाजिक सुरक्षा दिवस मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै उहाँले सामाजिक सङ्घसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजसेवा पवित्र र पूण्य कार्य हो । समाजका दिनदुःखी अशक्त र सामाजिक आर्थिक दृष्टिकोणले पछि परेका वर्ग, समुदायको उत्थान र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन जरुरी छ ।”

प्रधानमन्त्री देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक भावकासाथ सेवा प्रवाह गर्न र यसप्रति नयाँ पुस्तालाई आकर्षित गर्न सबैले निःस्वार्थभावले एकताबद्ध भई समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

देउवाले गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रम, सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने बताउनुभयो ।

जुन उद्देश्यले सामाजिक संस्था स्थापना भएका छन्, आर्थिक पारदर्शिता अपनाएर सहर केन्द्रितभन्दा पनि दुर्गम गाउँसम्म पुगेर जनताको सेवामा सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले परिषद्मार्फत हुने सेवा प्रवाहलाई छिटो–छरितो र सहज बनाउन विद्युतीय प्रणाली अवलम्बन गरेको जानकारी दिनुभयो ।

सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा समारोह आयोजना गरेको हो । यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको छ ।

गैरसरकारी सामाजिक क्षेत्रलाई सङ्गठित गर्ने उद्देश्यले विसं २०४३ असोज ६ गते स्थापना भएको समाज कल्याण परिषद्को वार्षिकोत्सवका दिन हरेक वर्ष सामाजिक सेवा दिवस मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया