रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान

  असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा २०७७ सालको हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नूपुर भट्टाचार्य, हरिप्रसाद रिमाल नाट्य सङ्गीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य सङ्गीत सम्मानबाट रङ्गकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चार सेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित हुनुभयो।

त्यस्तै २०७८ सालको सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, विशेष सञ्चार सेवाबाट विदुर गिरी, नाट्य सङ्गीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया र विशेष नाट्य सङ्गीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मा सम्मानित हुनुभयो। कार्यक्रममा प्रमुख अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), संस्थाकी संरक्षिका कल्याणी रिमाल, कार्यक्रमका सभापति तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया