प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको चिन्तन ठिक छैन : नेपाल

  असोज ०५, २०७९

काठमाडौं, असोज ५ : सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली ठिक नहुने धारणा राख्नुभएको छ। नेकपा (एस) निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रपतिमा सर्वाधिकार भए भावी दिनमा थप सङ्कट उत्पन्न हुनसक्ने बताउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, “नेपालको संविधानमा कुनै पनि विधेयक पारित गरेर पठाएको छ भने राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ। त्यस्तै केही लागेको छ भने एक पटक फिर्ता गर्न सक्छ। फेरि पठाइसकेपछि राष्ट्रपतिले स्वीकार गर्नपर्छ। यो विषयले गम्भीर बनाएको छ। राष्ट्रपतिले अरू पनि असंवैधानिक कदम चाले के गर्ने ? संसदमा भएको प्रधानमन्त्री हुँदा यस्तो छ, राष्ट्रपति सर्वाधिकार भएपछि बस्न, खान दिँदैनन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीबारे चिन्तन ठीक छैन।”

उहाँले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सबै अधिकार भएको भए के हुन्थ्यो भनेर प्रश्न पनि गर्नुभयो। यसखाले चिन्तन ठिक नभएको भनेर माओवादी केन्द्रसँग पनि आफ्नो छलफल हुने गरेको उहाँले उल्लेख गर्नुभयो। यसमा आफ्नो लामो अनुभव भएको भन्नुहुँदै उहाँले शासनप्रणाली, शासकीय प्रणालीबारे लहडमा नभई गम्भीररुपमा चिन्तन गर्नुपर्ने धारणा राख्नुभयो। सत्ता गठबन्धनमा सिट बाँडफाँट सम्बन्धमा नेपाली कांग्रेस ८० देखि ९० सिटभन्दा तल झर्न नचाहेको र माओवादी केन्द्रले ५०, ६० सिटको दाबी गर्ने गरेकोप्रति उहाँले असन्तुष्ट पोख्नुभयो।

उहाँले भन्नुभयो, “यतिकै उम्मेदवार उठाउने रहर हामीमा छैन, जित्नेगरी उम्मेदवार खडा गर्न १५, २० सिट भनेका छौँ। कांग्रेसले ८०, ९०, ८५ सिटमा, माओवादी  ५०, ६० को सेरोफेरोमा घुमिरहेको छ। सङ्घ, प्रदेशको प्रत्यक्षतर्फ पार्टीले निर्णय गरेका व्यक्ति, समानुपातिक रूपमा भएका उम्मेदवारलाई जिताउन मतका निम्ति युवा सङ्घको सक्रियता आवश्यक छ।”

तपाईको प्रतिक्रिया