सञ्चालनमा आउन सकेन चिस्यान केन्द्र

  असोज ०४, २०७९

खोटाङ, असोज ४ : खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रूपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण भई उद्घाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो ।

लाखौँ बजेटको कृषि उपज कारोबार हुने हटियामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या भएको स्थानीयले बताएका छन् । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको थियो ।

दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको प्रतिनिधिसभा सांसद विशाल भट्टराई, तत्कालीन नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतको उपस्थितिमा २०७८ चैत २५ गते उद्घाटन गरिएको थियो ।

एउटा मात्र च्याम्बर रहेको सो चिस्यान केन्द्रमा एक पटकमा ३० टन कृषि उपज भण्डारण गरेर सुरक्षित राख्न सकिने क्षमता रहेको बताइएको छ । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको वडा कार्यालयले रेखदेख मात्र गर्ने वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

चिस्यान केन्द्र सञ्चालनको कार्यविधि निर्माण हुन नसक्दा सञ्चालनमा नआएको वडा अध्यक्ष राईले बताउनुभयो । नगरपालिकाले त्यसको तयारी गरिरहेको र चाँडै सञ्चालनमा आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरपालिका प्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाभित्र सम्पन्न भएका तथा सञ्चालन भइरहेका योजनाबारेमा विवरण संकलन गर्न नगर कार्यपालिकाको बैठकले समिति बनाएको जनाएको छ । सो समितिले विवरण बुझाएपछि आवश्यक कार्य अघि बढाइने नगर प्रमुख भट्टरार्ईले बताउनुभयो

तपाईको प्रतिक्रिया