सीमा नाकामा तस्करी रोकिएन

  असोज ०२, २०७९

नेपालगञ्ज, असोज २ : सीमापारिबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत भए पनि तस्करी रोकिएको छैन।  नाकामा खटिएको प्रहरी र जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर दैनिक सामान बरामद गर्दै आएको छ । प्रहरीको निगरानी बढ्दै गए पनि नेपालगन्जको सीमा क्षेत्रबाट तस्करी रोकिएको छैन ।

केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ। नाकामा प्रहरीको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहे पनि ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको छ। प्रहरीले नेपालगन्ज, कोहलपुर र हात्तीसारबाट अवैध सामान बरामद गर्दै आएको छ।

जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैध रूपमा भित्रिएको धेरै सामान बरामद गरे पनि अधिकांश ठाउँमा तस्कर पक्राउ पर्न नसकेको जानकारी दिनुभयो। बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण लामिछाने तस्कर र भरियाले प्रहरी देख्ने बित्तिकै सामान छोडेर भाग्ने गरेको बताउनुहुन्छ।

केही दिन पहिले ६० लाख बराबर भन्सार छलीको सामान बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। रत्न राजमार्गबाट सुर्खेत लैजान लागिएको अवस्थामा ट्रकलाई बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो।

नाकामा दुवै प्रहरी फोर्सको उपस्थिति हुँदा हुँदै एकै पटक ठूलो परिणाममा अवैध सामान नेपाल आइरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ।  यो विषयमा  सुरक्षा निकायको नेतृत्वसँग गम्भीर छलफल चलिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया