बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …

  असोज ०२, २०७९

पोखरा, असोज २ : सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो । पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी क्यान्भास सजाउन दुई दिनदेखि प्रतिक्षारत स्वदेशी र विदेशी कलाकार सफल हुन सकिरहेका छैनन् । मौसम बदलाव कारक बनिरहेको छ तर प्रतीक्षा बाँकी नै छ ।

जलरङमा कुची चोपेर माछापुच्छ«ेको काखलाई क्यान्भासमा उतार्दा आउने मजा कलाकारको कल्पनामै सीमित छ । नेपाली कलाकारले विगतका अनुभव पोखिरहेका छन्, विदेशी कलाकार अझै ती दृश्य सिर्जनामा लालायित छन् र प्रार्थना गरिरहेका छन् । छिनछिनमै परिवर्तन भइरहेको बादल अनि त्यसभित्र घुसेको पोखरा, स्थानीय रहनसहनले उनीहरुका मन भने लोभ्याइरहेको छ । अझ यहाँको पर्यटकीय क्षेत्र घाचोकबाट देखिने दृश्य क्यान्भास सजाउने कल्पनामा डुबिसकेका छन् कलाकार ।

त्यसको पूर्वसन्ध्यामा शनिबार १२ मास्टर कलाकारले बगरको भानु हलमा चित्रहरूको ‘रिहर्सल’ गरे । उहाँहरूको सिर्जना पोखराका ती सुन्दरताभन्दा टाढा थियो । कलाकारले आ–आफ्नो मुलुकका रहनसहन र सामाजिक परिवेश सिर्जना गरेर कलामार्फत एकताको सन्देश छरे । त्यसले उपस्थित कलाकार र दर्शकलाई लोभ्याइदियो । गडगडाहट तालीले कलाकारले सम्मान पाए भने नवकलाकार र दर्शक सेल्फी लिन तम्सिए ।

इरानी मास्टर आर्टिष्ट नादेर मोहजब्नीयले स्वर्गको परीको हाउभाउ कस्तो रहनसक्ला भन्ने कल्पनामा यथार्थ भर्नुभयो । समाजमा देखिरहेकै युवतीका चालचलनलाई कल्पना मिसाउँदा आउने सुन्दर युवतीको परिपक्व यौवन आर्ट पेपरमा खिच्नुभयो । युवतीको मस्त जवानी छचल्किएको दृश्यले दर्शक तथा कलाकारको मन जित्यो ।

“कलाको कुनै सीमा हुन्न, यो एउटा स्वर्गकी परीको सिरिजलाई देखाएको हुँ”, उहाँले थप्नुभयो, “उक्त सिरिजमा धेरै चित्र सिर्जना गरिसकेको छु ।” उहाँले फरक–फरक आसन र फरक–फरक ‘पोज’मा परीहरुलाई उतारिसक्नुभएको छ । त्यही शृङ्खला जोडेर नेपाली कलाकारसामु पस्किएको सुनाउनुभयो ।

उहाँसँगै भारतका कलाकार विजय विश्वाल पनि ‘लाइभ’ सिर्जनामा बस्नुभएको थियो । छोटो समयमा आर्ट पेपरमा जलरङ पोत्नुभयो । उहाँका सिर्जनाले भारतमा चल्ने पुरानो रेलमा नेपाली प्यागोडाशैलीका मन्दिर अनि त्यही कार्यक्रममा नृत्य प्रस्तुत गर्ने नेपाली युवतीलाई जोडेर देश–देशबीचको भाइचारालाई परिपक्व बनाउने प्रयास गरेको छ ।

रेलको अग्रभावमाथि नेपाली मन्दिरको गजुर ठड्याएको दृश्यले भानु हलका दर्शकको गडगडाहट तालिम पायो । विगतमा ट्रेन सिरिजमा भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट तारिफ पाएका उहाँले त्यही सिरिजमा नेपाली कला मिसाएर स्थानीय स्वाद पस्किने प्रयास गरेको सुनाउनुभयो ।

स्केच नगरी कला सिर्जना गर्न पारङ्गत नेपाली मास्टर आर्टिष्ट दिराम पाल्पाली अन्तर्राष्ट्रिय कलाकारसामु अब्बल नै देखिनुभयो । सयौँ दर्शकका बीचमा प्रत्यक्ष कला सिर्जनामा सहभागी पाल्पालीले काठमाडौँको व्यस्त सडक र त्यहाँ आ–आफ्नो तालमा हिँडिरहेका बटुवा उतारिरहँदा भारतीय कलाकार विजयको मन उद्देलित भयो । तत्कालै पोडियममा पुगेर भन्नुभयो, “वास्तविक जलरङ भनेको त्यो हो, जुन पाल्पालीको डेमोमा देखिँदैछ ।”

बङ्गलादेशी मास्टर कलाकार कौशर होसनले नेपाली समाज सुहाउँदो आफ्नै मुलुकको सुन्दर ग्रामीण बस्ती र त्यहाँको समाज, रहनसहनलाई देखाइदिनुभयो । उहाँसँगै लाइन सिर्जनामा नेपाल कलाकार भीम श्रेष्ठ सहभागी हुनुभयो । उहाँले नेपाली समाजलाई चित्रित गर्नुभयो ।

पानी रङ जटिल विधा हो । यसमा काम गर्र्दा सुधार गर्ने मौका नै हुन्न । बिग्रियो त सकियो । त्यसैले पनि जलरङमा कुची चलाउन औधी गाह्रो हुन्छ । त्यसमाथि नेपालकै दोस्रो पर्यटनको गल्तव्य पोखराको सुन्दरता सिर्जनामा वर्णन गर्न झनै गाह्रो हुन्छ ।

माछापुच्छ«े हिमालको काखमा रहेको पोखराको अनुपम दृश्यले पर्यटकलाई बारम्बार लोभ्याउँछ । प्राकृतिक तालहरूबाट प्राप्त आनन्द अनि अन्नपूर्ण हिमशृङ्खलाका हिमाली दृश्य एकसाथ नजिकबाट नियाल्न सकिने ठाउँ हो पोखरा । ग्रामीण बस्ती, स्थानीय रहनसहन र विभिन्न साहसिक खेल यसका थप विशेषता हुन् । घरीघरी बादलुको घुम्टोले ढाकेका पल कम्ता गजब लाग्दा हुन्न ।

मानसपटलमा पटकमा ती दृश्य कैद भए पनि कलाकारले शनिबार त्यसलाई क्यानभास सजाउन पाएनन् । तेस्रो चरणका डेमोस्टेटर छ कलाकार एकैपटक लाइभमा बसे । कला सिर्जना गरेर देखाए । जसमा नेपालका मनोज तामाङ र डिबी राई, भारतका अमलेश मजुम्दार र अनिल शर्मा तथा बङ्गलादेशका एसएम वाहिदुज्मान र अराफात हुसेनले प्रस्तुति दिनुभयो ।

संस्कृति, राजनीति र सामाजिक विषयलाई सरलरूपमा प्रस्तुत गर्न सकिने विधा हो कला । सहजरूपमा बुझन् सकिने विधाको एउटा महोत्सवकै रूपमा पोखरामा आयोजना गरिएको आर्ट क्याम्प पर्यटक प्रवद्र्धनको माध्याम पनि हो ।

नेपाल प्रकृति, संस्कृति, इतिहास र सभ्यताको खानी मुलुक हो । अझै पोखराको दृश्य सबैका लागि मनमोहक हो । त्यसलाई हृदयको गहिराइमा पुगेर सिर्जना गर्न सके त्यसले खास दिन्छ । लुकेका विषयवस्तुलाई सरलरूपमा पस्कन सक्ने क्षेत्र भनेकै कला हो । कला जीवनसँग संलग्न हुने भएकाले इरान होस् या बङ्गलादेश, भारत होस् या नेपाल यसले संसारलाई एक बनाउन भूमिका खेल्छ । कलाले विश्वलाई जोड्न मद्दत गर्छ ।

आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका अध्यक्ष एनबी गुरुङ यस कार्यक्रमले पोखरा र समग्र नेपालको पर्यटन विकासमा योगदान गर्ने विश्वास गर्नुहुन्छ । आइतबार घाचोक पुगेर प्रतिस्पर्धात्मक कला सिर्जना गरिँदै छ भने सोमबार यहाँका अन्य प्राकृतिक दृश्य समेट्ने योजना कलाकारको छ । (रासस)

तपाईको प्रतिक्रिया