लिमीलगायत उच्च क्षेत्रमा हिमपात : कैलाशको दर्शन गर्ने पर्यटक प्रभावित

  असोज ०२, २०७९

हुुम्ला असोज २ : नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीलगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातिबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा शनिबार रातीबाट हिमपात भएको बताउनुभयो । उहाँले शुक्रबार लाप्चा, न्यालु लगाएका उच्च स्थानमा हिमपात भएको भए पनि रातिबाट ताक्ची, तुम्लिङ र लिमीका तीनवटै गाउँमा हिमपात भएको बताउनुभयो ।

लिमीका गाउँ हिमपात पछि सेताम्मे देखिन थालेका छन् । उहाँले लिमीको गाउँमा चार इन्ची हिउँ जमेको र अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताउनुभयो । उहाँले चिसो भने निक्कै बढेको बताउनुभयो ।

वर्षापछि हिउँ पर्न सुरु हुँदा पाक्नै लागेको बालीलाई समेत क्षति  पुर्‍याएको उहाँले बताउनुभयो । ताक्चीबाट लाप्चा गएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरू प्रभावित हुनुभएको छ ।

त्यसैगरी, अग्ला पाटनमा पाल्दै आएका चौँरीलगायत पशुलाई समेत समस्या भएको छ । यो हिमपात उत्तरी हुम्लाका उच्च क्षेत्र सबैतिर परेको छ र सदरमुकाम सिमकोटका उच्च स्थानमा हिमपात भएको छ । यस वर्षको यो हिमपात पहिलो हो ।

तपाईको प्रतिक्रिया