सेवाग्राही समक्ष सूचना पुर्याउन ‘पारदर्शी भित्तो’

  भदौ ३०, २०७९

तनहुँ, भदौ ३० : जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राही सहजरूपमा सूचना पु-याउन ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकामा भए गरेका काम तथा विभिन्न गतिविधिका बारेमा सहजरूपमा सूचना दिने उद्देश्यले ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले यसअघि नागरिकमैत्री र उत्तरदायी सेवा प्रवाहमा सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालन गरी सेवा दिँँदै आएको छ ।

उक्त कार्य प्रभावकारी हुने देखिएपछि जिल्लाका अन्य केही पालिकाले अवलम्बन गरी सेवा प्रदान गर्न थालेको पाइन्छ । पारदर्शी भित्तोमा छुट्टाछुट्टै शीर्षकमा सूचना टाँस गरी सेवाग्राहीलाई सूचित गर्ने काम गरिएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । कार्यालयमा हुने मासिक आयव्यय, दैनिक हुने सूचना कार्यक्रम प्रकाशन, बैठकका निर्णय विविधलगायत शीर्षक राखेर भित्तोमा टाँस गर्ने गरिएको उहाँले बताउनुभयो ।

पारदर्शी भित्तोलाई व्यवस्थित गर्न र नगरमा भएका गतिविधि सेवाग्राहीलाई जानकारी दिनका लागि पारदर्शी भित्तो स्थापना गरिएको नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पढ्न र हेर्न सहज वातावरण सिर्जना गरिएको छ ।

नगरपालिकामा भएका कामलाई पारदर्शी बनाएर सेवाग्राहीसम्म पु¥याउने लक्ष्यअनुरूप उक्त कार्यको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलावल्भ न्यौपानेले जानकारी दिनुभयो ।

अहिले नगरपालिकामा सेवा लिन आएका मानिसलाई एकपटक पारदर्शी भित्तो अवलोकन गरेर मात्रै फर्किने बानी परिसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया