मुडे–शैलुङ सडक मर्मतको काम सुरु

  भदौ ३०, २०७९

चरीकोट, भदौ ३० : दोलखाको मुडेदेखि शैलुङ गाउँपालिकाको कार्यालय सम्म पुग्ने सडक मर्मतको काम सुरु भएको छ । निर्माण कम्पनीले बुधबारबाट सडक निर्माणको काम सुरु गरेको हो । एकहप्ता अघिदेखि मुडे शैलुङ सडक निर्माणमा ढिलाइ भन्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशन भएपछि कार्यालयले ममर्तको काम सुरु गरेको छ ।

निमार्ण कम्पनीले ग्राबेल थुपारिसकेको र डण्डी झारिसकेकाले दसैंअघि ग्राबेल  बिछ्याएर केही स्थानमा ढलान गरिने योजना रहेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङगेसम्म पुग्ने सडक शैलुङ गाउँपालिकाको महत्वपूर्ण सडक हो निर्माण कम्पनीले समयमा नै ममर्त नगर्दा मुडे हुँदै राजधानी काठमाडाैँलगायतका जिल्लामा आवतजावतमा स्थानीयहरुले सास्ती ब्यर्होनुपरेको थियो ।

गाउँपालिकाको निरन्तर प्रयासपछि अलपत्र सडक निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । अब भने सडक निर्माण हुनेमा आशा पलाएको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

मुडेदेखि ढुङ्गेसम्म १६ किलोमिटर सडक कालोपत्रे गर्नेगरी भौतिक पूर्वाधार कार्यालय, सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपियाँमा महालक्ष्मी निर्माण, द कन्चनजङ्घा र शुभकामना जेभिसँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७६ साल असारमा सम्झौता गरेको थियो । तर, तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थपिएको थियो । अन्तिम पटक थपिएको म्याद ०७९ पुसमा सकिँदैछ ।

तपाईको प्रतिक्रिया