कोलम्बो, भदौ २९ : श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताउनुभएको छ ।
विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताउनुभएको हो । कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ । हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ ।”
“सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ । हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ ।” विक्रमासिङ्घेले श्रीलङ्कामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताउनुभयो ।






