ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

  भदौ २८, २०७९

काठमाडौँ, भदौ २७ : ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ ।

नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सहप्रायोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड गोल्डेन स्टेट मुभी मेकर र मिडिया हाउस एलएलसीले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

ग्लोबल नेपाली फिल्म अवार्डको अर्को उद्देश्य नेपाललाई विदेशी चलचत्रिकर्मी माझ चिनाउने र हलिउडका सिनेकर्मीलाई फिल्म सुटिङका लागि नेपाल आमन्त्रण गर्ने, नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीको पुनःमिलन गराउने उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया