काठमाडौं, भदौ २७ : महारानी एलिजाबेथबाट सम्मानपत्र प्राप्त गरेका नेपाली समुदायका एकजना सदस्यले उनको निधनपछि आफू शोकाकुल भएको बताएका छन् ।
सुजन कटुवाल यूकेमा नेपाली समुदायका सदस्य हुन् र उनले कोभिड महामारीको समयमा एक लाख भन्दा बढी छाक निःशुल्क भोजन वितरण गरेपछि महारानीबाट सम्मान स्वरूप पत्र प्राप्त गरेका थिए ।
ब्रिटिश सेनामा कार्यरत नेपाली गोर्खाहरूको ब्रिटेनको राजतन्त्रसँग नजिकको सम्बन्ध छ । ७० वर्षसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
गोर्खा वेल्फेयर ट्रस्टले महारानीको गोर्खाहरूसँग ‘विशेष सम्बन्ध’ रहेको बताएको छ । २४ वर्षको उमेरमा नेपालबाट लन्डन आएका कटुवाल दक्षिण पूर्वी लन्डनको ग्रिनिचमा बसोबास गर्छन्। उक्त क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति छ ।
उनले नजिकैको लुइसममा पानस गोरखा नामक नेपाली रेस्टुराँ स्थापना गरेका छन् । महामारीको समयमा उनले विभिन्न क्षेत्रका श्रमिक र सङ्कटमा परेका व्यक्तिहरूलाई एक लाख भन्दा धेरै छाक खाना वितरण गरेका थिए। त्यसपछि उनले बकिङ्घम दरबारबाट कदर पत्र पाएका थिए ।
“म रोएँ,” कटुवाल भन्छन्, “मलाई लागेको थिएन कि हामीलाई पत्र आउँदै छ। सबैभन्दा पहिले मैले मेरी आमालाई नेपालमा सम्पर्क गरेँ र सुनेर उहाँ पनि रुनुभयो ।”
“हामी जहाँबाट आयौँ तपाईँहरू त्यहाँ यस्तो कुरा अपेक्षा गर्न सक्नुहुन्न। त्यो पैसाले किनेर पाउने चिज होइन ।” सन् १८०० को दोस्रो दशकदेखि नै नेपालका गोर्खा र ब्रिटिश सेनाबीच सम्बन्ध रहँदै आएको छ ।
सन् २०१५ मा गोर्खाहरूले ब्रिटिश सेनामा सेवा गरेको २०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा महारानी सहित शाही परिवारका सदस्य उपस्थित थिए । कटुवालका अनुसार महारानी एलिजाबेथ नेपालमा पनि प्रिय व्यक्तित्व थिइन् ।