जनकपुरधाम, भदौ २७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ ।
नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”
एमाले सरकारमा जानका लागि नभइ मुलुकलाई बर्वादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले जनताको सद्भाव र एकताका लागि निर्वाचनमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी निर्वाचनमा जान लागेको उहाँको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो ।
उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले निर्वाचनजित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।
एमालेले कसैसँग गठबन्धन गर्दैैन : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताउनुभएको छ । नेकपा (एमाले) धनुषाले आज आयोजना गरेको बृहत् जनसभामा उहाँले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्नुहुँदै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले भन्नुभयो, “एमाले कसैसँग गठबन्धन गर्दैन ।”
एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन र मधेसीहरूकै पार्टी भएको दाबी गर्नुहुँदै अध्यक्ष ओलीले एमाले पार्टी मधेसीको पार्टी हो, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी भएको जिकिरसमेत गर्नुभयो । उहाँले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भन्नुभयो, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।”
नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पार्नुभयो ।






