काठमाडौं, भदौ २७ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहानदेखि बालुवाटारमा जारी रहेको छ ।
मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठक चलिरहेको छ ।
बालुवाटार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा सहमतिका लागि द्विपक्षीय, त्रिपक्षीय एवम् सामूहिक रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।
सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “बैठकको अवस्था सकारात्मक छ र छलफल द्विपक्षीय, त्रिपक्षीय र सामूहिकरुपले प्रारम्भ भएको छ । निर्णय गरिहाल्ने अवस्था छैन तर निर्णयको नजिकमा अहिलेको आवश्यकता लचिलो हुनुको विकल्प छैन ।”
उहाँले बैठकमा दलहरुको आ–आफ्नो अडान रहेको र ती अडानमा सूक्ष्म ढंगले विश्लेषण गर्दै अघि बढेको अवस्था रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अझै छलफल बाँकी नै रहन्छ भन्ने मलाई लाग्छ । एउटै सिटमा दुई, तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटै गठबन्धनको उम्मेदवार बनाउनुपर्नेछ ।”
यही प्रयोेजनका लागि दलहरुबीच द्विपक्षीय, त्रिपक्षीय र सामूहिकरुपमा छलफल चलिरहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बैठक अहिले पनि चलिरहेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।






