महेन्द्रनगर (धनुषा), भदौ २६ : हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्धमा दिवङ्गत पितासहित पूर्वजहरुको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान दिइन्छ ।
सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो विधि सोह्रश्राद्धको नामले परिचित छ । जानकारहरुका अनुसार पितृ तर्पण गर्नेलाई पितृदोष लाग्दैन । पितृदोष लाग्दा थाहा नहुने तर समृद्वि, व्यापारमा वृद्वि र सन्तानको सुस्वास्थ्य तथा सुसंस्कारमा अवरोध हुने बताइएको छ । पितृकर्म गर्नेले मात्र देवकर्मको पनि फल प्राप्त गर्न सक्ने जानकारहरु बताउँछन् ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा हिन्दू संस्कारमा रहेको छ । बडादसँै र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।
सोह्रश्राद्ध सुरु भएसँगै जनकपुधामको गङ्गासागरसहित देशका विभिन्न स्थानका धार्मिक महत्वको तालतलैया, नदी, सरोवर, पोखरी आदिमा पनि सर्वसाधारण दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।






