उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी

  भदौ २६, २०७९

काठमाडौँ, भदौ २६ : पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न, सुन्न सबै मोबाइलकै प्रयोगबाट गर्न सकिन्छ ।

नेपालमा मोबाइल सेवाको इतिहास त्यति लामो नभए पनि प्रविधि विकाससँगै यसको प्रयोग बहुआयामिक हुँदै गएको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई पोस्टपेड र प्रिपेड सिमकार्ड वितरण गर्न थालेसँगै नेपालीको सूचना प्रविधिमा पहुँच बढ्दै गएको हो ।

कुनै समय नोकिया फोनले एकछत्र राज गरेको नेपाली बजारमा अहिले धेरै उत्कृष्ट ब्राण्डले राज गरेका छन् । केही कम्पनीबीच प्रतिस्पर्धाको होडबाजी नै चलिरहेको छ । यतिबेला सामसङ, रेडमी एमवानका सेरिज, रियल मी, वानप्लस, ओप्पो, नोकिया, टिटिएललगायतका ब्राण्ड बिक्री हुने ताम्राकार कप्लेक्सस्थित वेस्ट टिच सेन्टरका म्यानेजर कृष्ण महतले बताउनुभयो ।

उहाँका अनुसार रेड्मी पछिल्लो समय सबैभन्दा राम्रो बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “रेड्मीका सबैभन्दा कम मूल्यका रु १३ हजारदेखि धेरै रु ९५ हजारसम्मका मोबाइल अहिले बजारमा उपलब्ध छन् ।” सामान्य विशेषता भएका मोबाइल विद्यार्थी र घरमा बस्ने आमाबुवाले मात्र प्रयोग गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नर्मल रेन्जका मोबाइलमा दुई जीवी र्‍याम, ३२ जीवी इन्टर्नल मेमोरी, नर्मल क्यामेरा आठ एमबी, ब्याट्री पाँच हजार एमएस र डिस्प्ले छ सय पाँच रेन्जको हुन्छ, यस्तो फोनबाट सामान्य काम गर्न सकिन्छ ।”

महँगो मोबाइल व्यवसायी र विशेष गरी धनाढ्य परिवारका विद्यार्थीले खरिद गर्ने उल्लेख गर्दै उहाँले युवायुवतीले मोबाइलमा गेम खेल्न वानप्लसको मि को सेरिज उपयुक्त हुने बताउनुभयो । आइफोनको बिक्री अहिले खासै नभएको भन्दै महतले दसैँ नजिकिए पनि व्यापार भने सरकारी बिदा भएपछि मात्र सुरु हुने जानकारी दिनुभयो । अहिले मोबाइल युवाको व्यक्तित्व झल्काउने वस्तुका रूपमा समेत बुझ्न थालिएको देखिन्छ । मानिस सबै छाडेर पनि मोबाइलबाट भने टाढा हुन नसक्ने अवस्थामा पुगेको छन् । नेपाली समाज सुहाउँदो हरेक किसिमका मोबाइल फोन नेपाली बजारमा उपलब्ध छन् ।

विगत दुई वर्ष कोरोना महामारीले व्यापार चौपट बनाएको उल्लेख गर्दै त्यसको असर अहिलेसम्म हट्न नसकेको टु फोर सिक्स इम्पेक्स प्रालीका सञ्चालक विवश सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले व्यापारको अवस्था अन्तिम वर्षको भन्दा कम छ ।”

महँगो मूल्यका मोबाइल खोज्ने उपभोक्ताको सङ्ख्या निकै कम भएको भन्दै उहाँले रु १५ देखि २० हजार रेन्जका मोबाइल नै बढी बिक्री हुने बताउनुभयो । “सामान्य रेन्जका मोबाइलमा छ जीवी र्‍याम, १२ जीवी इन्टरनल मेमोरी, दुई सय २८ जीवी इन्टर्नल मेमोरी हुन्छन् र हाइरेञ्जमा चार जीवी र्‍याम, ६४ जीवी इन्टनल मेमोरी हुन्छन्”, उहाँले भन्नुभयो । उपभोक्ताले आफ्नो क्षमताअनुसार मोबाइल खरिद गर्ने उहाँको भनाइ छ ।

सरकारले लगाएको तीन सय डलर माथिको सामानमा लगाएको प्रतिबन्धले नेपाली बजारमा फोन नै कम आएको ओरेञ्ज फेयर डिलका म्यानेजर विवेक पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले मार्केटमा बिक्री हुने तीन सय डलरभन्दा कम मूल्यका मोबाइल हुन्, पछिल्लो समयमा पुरानो स्टक भएका फोनमा वान प्लसका सेरिज महँगो रेन्जमा आएको छ ।” सामसङ एस सेरिज९ स्टक सकिएर समस्या आइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार बजारमा रु १५ देखि ३० हजारसम्म मूल्य भएका मोबाइल बिक्री भइरहेका छन् । “अहिले ग्राहकहरूले क्यामेराको गुणस्तर, र्याम, रोम बढी भएका मोबाइल मात्रै खोज्छन्, आजभोलि धेरै खोजिने भनेकै क्यामेराको हाइ मेघापिक्सल हो”, उहाँले भन्नुभयो । ओप्पो र सामसङ ब्राण्डका मोबाइल नै बढी बिक्री भइरहेको उहाँको दाबी छ । सामसङ कम्पनीका मोबाइल रु २२ हजार देखि रु ५५ हजार रेन्जका बढी बिक्री हुने उहाँले बताउनुभयो ।

त्यस्तै सामसङको उच्च रेन्जमा एस २२ अल्टा आएको र आयातमा समस्या भएकाले उपभोक्तालाई सबै भेरियन्टमा उपलब्ध गराउन नसकेको पौडेलले गुनासो पोख्नुभयो । यसको मूल्य बजारमा रु एक लाख ७० हजारदेखि रु ८० हजारसम्म रहेको बताउनुभयो ।

पौडेलले ओप्पो ब्राण्डको रु ४५ हजार मूल्यको पछिल्लो समय एफ २१ प्रो मोबाइल आएको बताउँदै त्यसमा सोनीको सात सय नौ क्यामेरा प्रयोग भएकाले उत्कृष्ट काम गर्ने दाबी गर्नुभयो । युवाले रोज्ने मोबाइलको मूल्य रु ४० देखि र ६० हजारसम्म पर्ने उहाँको भनाइ थियो ।

बजारमा रु दुई लाख ३५ हजार पर्ने सबैभन्दा महँगा मोबाइल व्यवसायीले खरिद गर्ने उहाँको भनाइ छ । सामसङ, ओप्पो र भिभोमा समस्या कम देखिएको र टिटिएल, लाभाका ब्राण्डमा समस्या धेरै देखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तिनीहरूमा सफ्टवेयर इस्यु बढी आउने देखिएको छ ।”

पौडेलले दसैँ विशेष व्यापार सुरु नभइसकेको बताउँदै उपभोक्ताले विभिन्न ब्राण्डको अफर पर्खिरहेको टिप्पणी गर्नुभयो । एक सातादेखि खासै व्यापार नभएको भन्दै उहाँले कम्पनीका अफरबारे थाहा पाएलगत्तै उपभोक्ताको सङ्ख्या ह्वात्तै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सामसङ कम्पनीको मोबाइल खरिद गर्न आउनुभएका विद्यार्थी सन्दिप शर्माले १२ जीवी र्‍याम, एक सय २८ जीवी इन्टर्नल मेमोरी, कभर, क्यामेरा उत्कृष्ट, प्रोसेसर जस्ता विशेषता भएको मोबाइल खरिद गर्न खोजेको बताउनुभयो । उक्त विशेषता भएका मोबाइलमा अध्ययन गर्न र गेम खेल्न सजिलो हुने उहाँको विश्वास छ ।

कलेजमा अध्ययनरत रोजिना कार्कीले आफ्नो बजेटअनुसार फिचर राम्रो भएको मोबाइल किन्न बजार आएको बताउनुभयो । बजारमा आएका ब्राण्डमध्ये आफूलाई वान प्लस मन परे पनि रकम अभावले रेड्मी खरिद गर्ने सुनाउनुभयो । “रेडमीमा पनि र्‍याम, रोम र प्रोसेसर उत्कृष्ट छ”, उहाँले भन्नुभयो ।

इलामका ऋषव तामाङले आइफोन १४ सेरिज भर्खरै लन्च भएको भन्दै त्यसबारे बुझ्न आएको बताउनुभयो । आइफोन १४ मा इन्टरनेट उपलब्ध नभए पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न सकिने नयाँ प्रविधि आएको उहाँले जानकारी दिनुभयो ।

वान प्लस, सामसङ, शाओमीको एमआइमा राम्रो फिचर रहेको उहाँको भनाइ छ । “आइफोनबाहेक मलाई रेड्मी (एमवान) नै मन पर्छ, त्यसमा अन्य कम्पनीको तुलनामा एउटै मूल्यमा पनि राम्रो विशेषता रहेका छन्”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया