वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

  भदौ २४, २०७९

काठमाडौं, भदौ २४ : शुक्रबार काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ ।

इन्द्रजात्रा विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाणसहित विशिष्ट व्यक्तित्वसहित सर्वसाधारणको ठूलो संख्या उपस्थिति थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधान सेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति थियो । इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजापाठ गर्नुभएको थियो ।

 

इन्द्रलाई पूजा गरेर उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ । विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् ।

वसन्तपुरमा आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल उपस्थित हुनुहुन्थ्यो।  इन्द्रजात्रा  काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवार बस्ती भएका धेरै ठाउँमा भगवान् इन्द्रलाई सम्झेर मनाउने चलन छ। वैदिक कालका भगवान् इन्द्रको ठूलो महत्त्व छ। इन्द्रजात्राको एक फरक कथा छ।

इन्द्रजात्राका लागि काभ्रेको नालाबाट ल्याइएको ‘यँंसी’ अर्थात् इन्द्रध्वज ठड्याउने चलन छ। इन्द्रध्वज वा नेपाल भाषामा यम्बद्यो ठाउँठाउँमा उठाउने चलन छ। विभिन्न विधि र विधानसहित एक सातासम्म मनाइने गरिन्छ। आजभन्दा १५ सय वर्ष अगाडि नेपाल मण्डलको समाजमा इन्द्रध्वज खडा गरेर धूमधामसँग यो जात्रा मनाउने चलन थियो।  विभिन्न कालखण्डमा विभिन्न शासकले विधिविधान थप्दै लगेका हुन् ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएर यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरेर यो जात्रा सम्पन्न गरिन्छ। कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरिएको छ। काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो। परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया