ट्रस कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित, बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

  भदौ २०, २०७९

काठमाडौं, भदौ २० : यूकेमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ ।

सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो । दलको नेता बनेसँगै उनी मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन् ।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् ।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ ।

बाल्यकाल देखिको सपना
सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निभाएकी थिइन् ।

थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन् ।

तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निभाए पनि त्यसबेला उक्त नाटकमा उनले सफलता पाइनन् ।

धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन्, “म त्यस बेला मैदानमा उत्रिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ । म आफैँले पनि आफूलाई भोट हालिनँ ।”

उनन्चालीस वर्षपछि सोमवार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउन वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीको नेता बनिन् ।

अब उनी मङ्गलवार ब्रिटेनको प्रधानमन्त्री नियुक्त हुनेछिन् ।

सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए ।

तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए। उनले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए ।

उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताएकी छन् ।

ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी थिइन् ।

तर विभिन्न हिसाबले उनी परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने होइनन् ।

मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन् ।

उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा “वाम खेमा”की नर्स भएको बताएकी थिइन् ।

बाल्यकालमा उनलाई उनकी आमाले परमाणु निःशस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जान्थिन् ।

त्यसबेला परमाणु निःशस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु वारहेड राख्ने दिने थ्याचर सरकारको निर्णयको जोडदार विरोध गरेका थिए ।

लिज ट्रस: सामान्य परिचय

उमेर: ४७

जन्मस्थान: अक्सफर्ड

घर: लन्डन र नोर्फो

शिक्षा: राउन्डहे स्कूल लीड्स्, अक्सफर्ड विश्वविद्यालय

परिवार: दुईछोरीअकाउन्टेन्ट ह्युज ओ’लेरीसँग विवाह

संसदीय निर्वाचन क्षेत्र: दक्षिण-पश्चिम नोर्फो

ट्रस चार वर्षकी हुँदा उनको परिवार ग्लास्गोको पश्चिमतर्फस्थित पेस्ज्ली सर्‍यो ।

बीबीसी रेडियो फोरको प्रोफाइल कार्यक्रममा बोल्दै उनका भाइले बताए अनुसार ट्रसको परिवार बोर्ड गेमहरू खेल्ने गर्थ्यो ।

त्यस क्रममा ट्रस हार्न नचाहने र हार्ने अवस्था आयो भने खेल छाडेर भाग्ने गर्थिन् ।

त्यसपछि उनको परिवार लीड्समा सर्‍यो। उनले त्यहाँ एउटा समुदायिक माध्यमिक स्कूलमा पढिन् ।

विद्यालयमा अध्ययन गर्ने बेलामा आफूले “असफल र न्यून अपेक्षाहरू भएका बालबालिका”लाई देखेको वर्णन गरेकी छन् ।

तर त्यहाँ अध्ययन गरेका उनका समकालीनहरूले ट्रसले भनेकोभन्दा फरक कुरा बताएका छन् । त्यसमा गार्डियनका पत्रकार मार्टिन पेङ्गेली समेत छन् ।

उनले लेखेका थिए, “सायद उनी आफ्नो हुर्काइ बढाइको केही कुरालाई छनोट गरेर मात्र उजागर गरिरहेकी छन् र साधारण राजनीतिक लाभका लागि उनलाई शिक्षादीक्षा दिने शिक्षकहरू तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन् ।”

विद्यालयपछि उनी अक्सफर्ड विश्वविद्यालय गइन्। त्यहाँ उनले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढिन् ।

ट्रस विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् र सुरुमा उनी लिबरल डेमोक्र्याट्सका लागि राजनीति गर्थिन् ।

सन् १९९४ को पार्टी सम्मेलनमा उनले ब्रिटेनबाट राजतन्त्र अन्त्य गर्नुपर्ने पक्षमा बोलेकी थिइन् ।

उनले ब्रिघटनमा भनेकी थिइन्, “हामी लिबरल डेमोक्र्याट्सहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ। हामी मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौँ ।”

वेस्टमिनस्टरको महत्त्वाकाङ्क्षा
अक्सफर्डमा ट्रस कन्जर्भेटिम्सतर्फ लागिन् ।

स्नातक गरेपछि उनले शेल र केबल तथा वायरलेसमा अकाउन्टेन्टका रूपमा काम गरिन् अनि आफ्नै सहकर्मी अकाउन्टेन्ट ह्युग ओ’लेरीसँग सन् २००० मा विवाह गरिन् ।

उक्त दम्पतीका दुई बालबालिका छन् ।

सन् २००१ को आमनिर्वाचनमा उनी वेस्ट योर्कसायरको हेम्सवर्थबाट उम्मेदवार बनिन् तर त्यसमा हारिन् ।

सन् २००५ मा वेस्ट योर्कसायरकै काल्डर भ्यालीबाट उनले पुन: चुनाव हारिन् ।

तर उनको राजनीतिक महत्त्वाकाङ्क्षा कम भएन र ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनविचको काउन्सिलर बनिन् ।

सन् २००८ देखि उनले एउटा थिङ्कट्याङ्कमा पनि काम गरिन् ।

कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसको नाम उनको “ए-लिस्ट”मा राख्दै उनलाई प्राथमिकतामा रहेकी उम्मेदवार बनाए ।

त्यसका लागि उनलाई जीत सुनिश्चित भएको दक्षिण पश्चिम नोर्फोकमा उठाइयो ।

केही वर्षअघि टोरी सांसद मार्क फिल्डसँग उनको प्रेमसम्बन्ध रहेको भन्ने खुलासा भएपछि उनले संसदीय टोरी एसोसिएसनसँग उक्त छनोटबाट सूचीबाट हटाउने कुरामा लडाइँको सामना गर्नुपर्‍यो ।

यद्यपि उनलाई उम्मेदवार नबनाउने कोसिस असफल भयो र उनले १३ हजारभन्दा बढी मतले उक्त क्षेत्रबाट जितिन् ।

उनी ब्रिटानिया अनचेन्ड पुस्तककी सहलेखिका पनि हुन् । उक्त पुस्तक सन् २०१० मा उनी र अन्य चार जना कन्जर्भेटिम सांसदहरूसँग मिलेर लेखेका हुन् ।

उक्त पुस्तकले यूकेको आर्थिक हैसियतलाई विश्वभरि पुर्‍याउन सरकारी नियमहरूलाई फिर्ता लिनुपर्ने सुझाव दिएको छ त्यसले उनलाई टोरी बेन्चमा खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा उभ्यायो ।

बीबीसीको ‘डिटरशिप डिबेट’ मा ट्रसलाई ब्रिटानिका अनचेन्डमा गरिएको एउटा आलोचनालाई लिएर प्रश्न गरिएको थियो ।

उनको पुस्तकमा ब्रिटिश कामदारहरूलाई “विश्वका अल्छीहरूमध्येका” भनिएको बारे त्यस्तो प्रश्न गरिएको थियो । यद्यपि उनले आफूले त्यस्तो नलेखेकोमा जोड दिइन् ।

सांसद बनेको दुई वर्षपछि नै उनी शिक्षामन्त्रीका रूपमा सरकारमा सामेल भइन् र सन् २०१४ मा उनलाई वातावरण मन्त्रीका रूपमा बढुवा गरियो ।

सन् २०१५ मा भएको भएको कन्जर्भेटिभ सम्मेलनमा ट्रसलाई उनको एउटा भाषणका लागि खिल्ली उडाइएको थियो ।

त्यसमा उनले भावुक स्वरमा भनेकी थिइन्, “हामी हाम्रो पनिरको दुई तिहाइ भाग आयात गर्छौँ। त्यो एउटा अपमान हो ।”

b
एक वर्षभन्दा कम समयपछि सबैभन्दा ठूलो राजनीतिक घटना ईयू जनमतसङ्ग्रहको बेला आयो।

त्यस बेला उनले द सन पत्रिकामा लेख्दै ब्रेक्जिटले “ईयूमा बिक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन खाले दु:ख निम्त्याउनु हुने” तर्क गरेकी थिइन्।

यद्यपि उनको पक्ष पराजित भएपछि उनले आफ्नो मनस्थिति परिवर्तन गरिन् र ब्रेक्जिटले “जसरी कुराहरूले काम गर्छन् त्यसमा हलचल ल्याउने” भएकाले त्यो एउटा अवसर भएको बताएकी थिइन्।

टरिजा मे प्रधानमन्त्री रहेका बेला उनी न्यायमन्त्री बनेकी थिइन् र पछि उनी अर्थमन्त्री बनिन्।

सन् २०१९ मा बोरिस जोनसन प्रधानमन्त्री बनेपछि उनी अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनेकी थिइन्।

सन् २०२१ मा ४६ वर्षको उमेरमा उनले सरकारको अति उच्च पदमध्येमा पर्ने विदेशमन्त्रीका रूपमा पद सम्हालिन्। डोमेनिक राबपछि उनी विदेशमन्त्री बनेकी थिइन्।

विदेशमन्त्रीका रूपमा उनले उत्तरी आयरल्यान्डमा प्रोटोकलको उल्झनसम्बन्धी समस्यालाई हल गर्न माग गरिन्।

उक्त कदमलाई लिएर युरोपेली सङ्घले उनको व्यापक आलोचना गरेको थियो।

उनले इरानमा गिरफ्तार भएका दुईजना ब्रिटिश इरानी नागरिकको रिहाइ सुनिश्चित गरेकी थिइन्।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनी त्यसविरुद्ध एकदमै कडा रूपमा प्रस्तुत भइन्।

उनले उक्त देशबाट भ्लादिमिर पुटिनका सबै फौजलाई धपाउनुपर्ने बताएकी थिइन्।

युक्रेनका पक्षमा लड्न त्यहाँ जाने यूकेका नागरिकको समर्थन गर्दा उनको आलोचना पनि भएको थियो।

विवाद
पार्टी नेता बन्नका लागि उनले गरेको अभियान पनि विवादमुक्त छैन।

जीवनयापन सङ्कटलाई उनले कसरी समाधान गर्छिन् भन्ने प्रश्नमा ट्रसले करको भारलाई कम गर्ने बताउँदै आएकी छन्।

उनी सार्वजनिक क्षेत्रको तलबलाई क्षेत्रीय जीवनयापन लागतमा जोड्ने योजना हटाउन बाध्य भएकी छन्।

वरिष्ठ टोरी नेताहरूले त्यसले लन्डन बाहिरका लाखौँ कामदारले कम तलब पाउने भन्दै विरोध गरेपछि उनी उक्त कुरा हटाउन बाध्य भएकी हुन्।

उनले स्कटल्यान्डकी प्रधानमन्त्रीलाई “प्रचार खोज्ने व्यक्ति” भन्दै उनलाई बरु “बेवास्ता गर्नु” उचित हुने बताएकी थिइन् । यद्यपि सर्वेक्षणहरूले प्रतिस्पर्धी सुनकका तुलनामा उनी पार्टीभित्र धेरै लोकप्रिय रहेको देखाएका थिए ।

कतिपयले उनको पोसाकलाई हेरेर थ्याचरको अनुकरण गरेको पनि बताउने गरेका छन् । उनले उक्त कुरालाई नकार्दै आएकी बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया