निधनको २५ वर्ष : सम्झनामा ‘जनताको राजकुमारी’ डायनाको जीवन

  भदौ १८, २०७९

काठमाडौं, भदौ १७ : ब्रिटेनकी पूर्वराजकुमारी डायना कुनै बेला ‘विश्वमै सबैभन्दा बढी तस्बिर खिचिएकी महिलाका’ रूपमा चिनिन्थिन् । उनको मृत्युको २५औँ वार्षिकीमा बीबीसीले उनको जीवनलाई क्यामेराको लेन्सबाट नियाल्न खोजेका छ ।

उनी तत्कालीन भाइकाउन्ट एन्ड भाइकाउन्टेस ओलथोर्पकी कान्छी छोरी थिइन् । सन् १९६९ मा आफ्ना आमाबुबाको सम्बन्धविच्छेद भएपछि उनले नर्थह्याम्पटनसिअर र स्कटल्याण्डमा रहेका तिनका घरमा बारम्बार यात्रा गर्थिन् ।

डायनाले प्राथमिक शिक्षा डिस नरफोकमा अवस्थित रिडल्सवर्थ हल हासिल गरेकी थिइन् । उनले सन् १९७४ मा केट नजिकैको सेभेनओक्समा रहेको वेस्ट हिथमा अध्ययन गर्न थालिन् ।

सन् १९७७ मा त्यहाँबाट आफ्नो स्कुले अध्ययन पूरा गर्न उनी स्विटजरल्याण्ड गइन् र सन् १९७८ मा त्यहाँबाट फर्किन् । विद्यालय शिक्षापछि उनले पहिला बालबालिकाको हेरचाह गर्ने र कहिलेकाहीँ भान्छेको काम गरिन् ।

त्यसपछि उनले लन्डनको नाइट्सब्रिजमा अवस्थित योङ इङ्ल्याण्ड किन्डरगार्टेनमा सहयोगीका रूपमा काम थालिन् । त्यस बेला प्रिन्स अफ वेल्ससँगको उनको मित्रता प्रेममा परिवर्तन भइरहेको हल्ला चल्न थालेको थियो । त्यो बेला प्रेस र टेलिभिजनले उनलाई प्रत्येक पाइलामा पछ्याउन थाले र उनलाई काममा जान पनि अप्ठेरो पर्न थाल्यो ।

सन् १९८१ को फेब्रुअरी २४ मा राजकुमार चार्ल्स र डायना स्पेन्सरले बकिङ्घम दरबारमा औपचारिक रूपमा बिहे गर्ने घोषणा गरे । त्यस बेला लगभग ३०,००० पाउन्ड उक्त समारोहका लागि खर्च भएको थियो र १४ वटा हिरा जडित निलम रत्नको औँठी डायनालाई चार्ल्सले लगाइदिएका थिए । त्यो औँठी ज्यादै चर्चित भएको थियो र अहिले त्यसलाई डचेज अफ क्याम्ब्रिज क्याथरिनले लगाइरहेकी छन् ।

‘शताब्दीको विवाह’ संज्ञा दिइएको डायना र प्रिन्स चार्ल्सको विवाह सन् १९८१ को जुलाई २९ मा सेन्ट पल कथिड्रलमा सम्पन्न भएको थियो । दशौँ लाख मानिसहरूले टेलिभिजनमार्फत उक्त वैवाहिक कार्यक्रम प्रत्यक्ष रूपमा हेरेका थिए ।

बिस वर्षको उमेरमा आफ्ना श्रीमान्को नाम सही ढङ्गले उच्चारण गर्न उनी हल्का अकमकाएकी थिइन् । उनका पिता अर्ल स्पेन्सरले उनलाई विवाहको समारोह स्थलसम्म पुर्‍याएका थिए ।

विशेष प्रकारको उनको पोसाकको डिजाइन डेभिड र एलिजावेथ एमानुएलले गरेका थिए । उक्त जोडीलाई हेर्न बकिङ्घम दरबारदेखि कथिड्रलसम्म करिब छ लाख मानिसहरू लामबद्ध भएका थिए ।

नवविवाहितहरूले महारानी एलिजावेथ द्वितीया सहितको उपस्थितिमा दरबारको बरन्डामा उभिएर भीडलाई अभिवादन गरेका थिए ।

डायना सदैव ठूलो परिवारकी आकाङ्क्षी थिइन् ।

विवाह गरेको एक वर्षभित्रै सन् १९८२ को जुन २१ मा उनले प्रिन्स विलियमलाई जन्म दिइन् जो आफ्ना बुवा राजकुमार चार्ल्सपछि राजगद्दीका उत्तराधिकारी हुन् ।

राजकीय परिस्थितिले अनुमति दिएसम्म साधारण तरिकाले आफ्ना सन्तानहरू हुर्काउनुपर्ने पक्षमा उनी थिइन् ।

नर्सरीमा अध्ययन गर्न जाने विलियम पहिलो राजगद्दीका उत्तराधिकारी थिए ।

सन् १९८४ को सेप्टेम्बरमा विलियमका भाइको जन्म भयो ।

उनको नाम हेनरी राखिएको भए पनि उनी राजकुमार ह्यारीका नामले चिनिन्छन् ।

उनीहरूलाई निजी शिक्षकहरूले अध्यापन गराएका थिएनन् ।

दुवै जना अरू बालबालिकासँगै विद्यालय जान्थे ।

आफ्ना दुई छोराहरूको हेरविचारमा डायना लागिपरेकी थिइन् ।

राजकुमार ह्यारीले डायना “एक जना चकचके अभिभावक” भएको बताउँछन् ।

उनले थप्छन्, “उहाँले हामीलाई मायाले ओतप्रोत पार्नुभयो। त्यो निश्चित हो ।”

उनको लोकप्रियता बढ्दै जान थाल्यो ।

उनी फ्याशन जगत्की प्रतीक बन्न पुगिन र उनले लगाउने पोसाकहरूले सबैको ध्यान तान्न थाले ।

उनी थप औपचारिक कार्यक्रमहरूमा सहभागी भएसँगै उनको परोपकारी कामले सर्वसाधारणबाट प्रशंसा पायो र त्यो विश्वभर समाचारको विषय बन्यो ।

उनले एड्स लागेका मानिसहरूले बेहोरेका पीडालाई मानिसहरूमाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनका भाषणहरूले पूर्वाग्रहहरूलाई चुनौती दिने गरेका थिए ।

एड्सका बिरामीहरूसँग हात मिलाउने जस्ता उनका साधारण व्यवहारले मानिसहरूमा सामाजिक सम्पर्क जोखिममुक्त रहेको धारणा बनाउन सहयोग गर्‍यो ।

डायना र उनका पति कैयौँ कार्यक्रममा सँगै सहभागी भएका थिए र उनीहरूसँगै विदेश भ्रमणहरूमा पनि गएका थिए ।

तर सन् १९८० को अन्त्यसम्म पुग्दा उनीहरूको अलगअलग जीवन सार्वजनिक जानकारीमा पुगिसकेको थियो ।

सन् १९९२ मा भारतको औपचारिक भ्रमणको समयमा डायनाले प्रेमको प्रतीक चिन्ह रहेको ताज महलमा एक्लै बसेर तस्बिर खिचाएकी थिइन् ।

औपचारिक रूपमा सँगै रहेको भए पनि त्यसलाई उनीहरू बीचको दुरी व्यापक बढेको सङ्केतका रूपमा लिइएको थियो ।

आफ्नो जीवनभर डायनाले चर्चित रोमन क्याथलिक नन मदर टरिजासँग नजिकको सम्बन्ध कायम गरिन् ।

आफ्नो परोपकारी कामले चर्चित रहेकी मदर टरिजालाई मानव सेवासम्बन्धी उनका कामका लागि नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

उनीहरूको मृत्यु छ दिनको अन्तरमा भएको थियो ।

वर्षौँसम्म अलग रहेपछि डायना र चार्ल्सको सम्बन्धविच्छेदले सन् १९९६ को अगस्ट २८ मा औपचारिकता पाएको थियो ।

अर्को वर्षको जुनमा उनले विश्वभरका म्यागेजिनहरूको आवरण पृष्ठमा देखा परेका ७९ लुगाहरूलाई लिलामीमा राखेकी थिइन् ।

उक्त लिलामीबाट परोपकारी कामका लागि ४५ लाख पाउन्ड सङ्कलन भएको थियो ।

त्यसलाई आफ्नो विगत बिर्सेर अघि बढ्ने उनको प्रयासका रूपमा लिइएको थियो ।

उनले बारुदी सुरुङ बिछ्याउन प्रयोग गरिएका उपकरणहरूमाथि प्रतिबन्ध लगाउन माग गरेपछि संसारभर ठूलो चर्चा भएको थियो ।

बारुदी सुरुङ विरुद्धको एउटा अभियान माइन्स एड्भाइजरी ग्रुपका सहसंस्थापक लोउ मक्राले डायनासँग नजिकै रहेर काम गरे ।

उनले पछि बताए अनुसार त्यस्ता सामानमाथि प्रतिबन्ध लगाउन डायनाको सहयोग ‘निर्णायक’ बनेको थियो ।

सन् १९९७ को अगस्ट ३१ मा प्यारिसमा रात्रिभोजपछि धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग कारमा बाहिरिएका थिए ।

राजकुमारीको नयाँ मित्रको थप फोटो खिच्न सो जोडीलाई मोटरसाइकलमा फोटोग्राफरहरूले पछ्याएका थिए ।

उक्त भागदौडका क्रममा एउटा गम्भीर दुर्घटना हुन पुगेको थियो ।

त्यो दुर्घटनामा राजकुमारी डायनाको निधन भयो ।

उनको पारिवारिक घरमा शव यात्रा हेर्न सडकमा १० लाखभन्दा बढी मानिस जम्मा भएका थिए ।

उनको शव राखिएको बाकसको पछिपछि प्रिन्स चार्ल्स, १२ वर्षका ह्यारी, डायनाका भाइ र जेठा छोरा विलियम पैदलै हिँडेका थिए ।

मृत्यु भएको २५ वर्षपछि उनी विश्वभर ‘जनताको राजकुमारी’का रूपमा चिनिन्छिन् ।

तपाईको प्रतिक्रिया