काठमाडौं, भदौ १४ : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले आज साँझ वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुको पर्व हरितालिका तिजको दिन पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गर्नुभएको हो । मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो ।
राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गर्नुभएको हो ।
दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ। यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाएका छन्।
मंगलबार तीजको अवसरमा पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो। महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ। हिजो (सोमबार) दर खाएपछि औपचारिक रुपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ। आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ। अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन्।






