निर्वाचनमा सम्पूूर्ण शक्ति क्रियाशील हुन महासचिव गुरुङको आग्रह

  भदौ १०, २०७९

कास्की, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ ।

गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको आज पोखरामा बसेको संयुुक्त बैठकमा उहाँले माओवादीले गरेका राम्रा कामको जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुझाउनुहोला ।”

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै उहाँले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो ।

पार्टीका सचिव एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताउनुुभयो । माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको उहाँले जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया