काठमाडौं, भदौ ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार उहाँको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसरको शिवालयमा राखिनेछ ।
त्यसपछि ११ः३० बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपाको बी.पी. स्मृति भवनमा श्रद्धाञ्जलि लागि राखिने जानकारी दिनुभयो । त्यसपछि अन्त्येष्टिका लागि पशुपति लगिनेछ । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँ गत साउन ८ गते अस्पताल भर्ना हुनुभएको थियो।
उहाँको निधनपश्चात् कांग्रेसले विज्ञप्ति प्रकाशित गरी भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।” उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।






