निष्ठाप्रति सदा अटल : कांग्रेस नेता प्रदीप गिरीको निधन

  भदौ ०४, २०७९

ललितपुर, भदौ ४ : नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो ।

उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको राससलाई जानकारी दिनुभयो ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो ।

समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक हुनुहुन्थ्यो । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।

उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो ।

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।

निष्ठाप्रति सदा अटल

नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञ हुनुहुन्थ्यो प्रदीप गिरी। उहाँले १४–१५ वर्षको उमेरदेखि नै राजनीतिक अभियान सुरु गर्नुभयो। नवीन नेपाल निर्माणको सङ्कल्प र दृष्टिकोणमा खरो उत्रने नेता गिरी पाको पुस्तादेखि युवासम्म लोकप्रिय हुनुहुन्थ्यो।

सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरी वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा सिराहबाट विजयी हुनुभयो। तर, आफ्नो विजयलाई अहङ्कारका रुपमा लिनुभएन।

चुनाव जितेलगत्तै उहाँले भन्नुभयो, “मैले ल्याएको मतभन्दा मेरा प्रतिस्पर्धीहरूको मत धेरै छ। नेकपा एमाले र अन्य उम्मेदवारको मत जोड्दा म पराजित हुन्छु। यो प्राविधिक जीत मात्रै हो। यसमा धेरै घमण्ड गर्नुहुँदैन।”

उहाँको सम्बोधनका दौरान व्यक्त गर्नुभएको यो मन्तव्य त्यति बेला निकै चर्चित भयो। लोकतन्त्र प्राप्तिपछि पनि उहाँले आफ्नो निष्ठावान राजनीतिक लडाइँ जारी राख्नुभयो।

उहाँको स्वास्थ्य उपचारको जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललगायतका व्यक्तित्व अस्पताल पुग्नु भएको थियो।

तपाईको प्रतिक्रिया