धनगढी, भदौ ४ : कैलालीको कैलारी गाउँपालिका –७ रामपुरस्थित कटैनी नदीले बगाएको अस्थायी काठे पुल निर्माणमा स्थानीयवासी जुटेका छन् । सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुइयाँफाँटा र रामपुर गाउँवासीले नदीमा नयाँ काठेपुल बनाउन जुटेका हुन् ।
पुल निर्माणका लागि दुवै गाउँको सामुदायिक वनले काठ उपलब्ध गराएको रामपुर गाउँका भलमन्सा (बरघर) रामलाल चौधरीले जानकारी दिनुभयो । ‘रामपुर र भुइयाँफाँटाको सामुदायिक वनबाट काठ उपलब्ध भएपछि दुवै गाउँका जनताको श्रमदानमा पुल निर्माणको काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘पुल निर्माण गर्न अझै एक हप्ता जति समय लाग्नेछ ।’ उहाँका अनुसार पुल निर्माणमा गाउँका महिला–पुरुषले श्रमदान गरिरहेका छन् ।

गत असारमा आएको बाढीले त्यहाँ रहेको काठे पुल बगाएको थियो । महत्वपूर्ण कृषि काममा प्रयोग हुने सडकको पुल बगेपछि ओहोरदोहोरमा गाउँबासीलाई समस्या भएको थियो । पुल नहुँदा समस्या भएपछि काठे पुल निर्माणमा जुटेको स्थानीयले जानकारी दिएका छन् । अरुको आश गर्नुभन्दा आफ्नो गाउँठाउँको लागि आफै गरौं भन्ने भावकासाथ निर्माण कार्यमा जुटेको स्थानीय सचिन चुकहा थारुले बताउनुभयो ।
पुल निर्माणका लागि कैलारी गाउँपालिकाको कार्यालयले एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । यसअघि नदीले बगाउन बाँकी राखेको काठ झिक्न प्रयोग गरिएको डोजर खर्च भने भुइयाँफाँटा र रामपुर गाउँको कोषबाट तिरिएको गाउँलेको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।
नदीमा पक्की पुल निर्माण नभएपछि ग्रामीण क्षेत्रकोे नदीनालामा ओहोरदोहोरका लागि स्थानीयले आफै काठे पुल बनाउने गरेका छन् । काठसहित आवश्यक सामग्रीमात्रै उपलब्ध भएमा गाउँवासीले जनश्रमदान गरेर निर्माणको काम आफै गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको बरघर चौधरीले बताउनुभयो ।






