भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

  साउन ३०, २०७९

बनेपा, साउन ३० : काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने तालिम दिएको छ ।

किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागाईले किसानको पक्षमा मन्त्रालयले नवीनतम योजना बनाएर अघि बढिरहेको बताउनुभयो ।

“कृषि क्षेत्रको विकासको निम्ति सम्भावनाको खोजी गर्दै ५५ बुँदे मार्गचित्र बनाएर मन्त्रालय अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो । प्राङ्गारिक, जैविक र गड्यौला मल उत्पादन गर्न बजेटको व्यवस्थापन गरेको मन्त्री हुँमागाईंले बताउनुभयो ।

कृषि कार्यमानै निर्भर रहेका किसानलाई उत्पादनमा व्यवसायीकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको गाउँपालिकाले जनाएको छ ।

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन बजेटको व्यवस्था गरी जैविक मल बनाउने प्रशिक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयो ।

सो क्रममा उहाँले गाउँपालिकाको बेखसिम्लेलाई कोदो उत्पादन, चौबासलाई फापर पकेट क्षेत्र घोषणा गरेर कोदो उत्पादन गर्ने किसालाई एक पाथीको रु २५ को दरले अनुदान तथा फापरमा ३० दिने उहाँले बताउनुभयो ।

सहभागीलाई शङ्कर पाण्डेले मलको उत्पादन, प्रयोग र व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको छ । वडाबाट दश किसानको सहभागिता रहनेगरी एक सय किसानलाई मल बनाउने विधि सिकाइने छ ।

तपाईको प्रतिक्रिया