अक्षरलाई आकार दिँदै कालिगड राणा

  साउन २९, २०७९

काठमाडौँ, साउन २९ : नेत्री तथा समाजसेवी प्रतिभा राणा, थप प्रतिभाका साथ उदाउनुभएको छ, ‘कवि प्रतिभा’को पहिचानमा। उहाँद्वारा लिखित दुई कवितासङ्ग्रह कर्टन अफ माया (अंग्रेजी) र गहिराई (नेपाली) एकै साथ लोकार्पित भएपछि पूर्वमन्त्री, संविधान सभा सदस्य, राजदूतजस्ता राज्यका पदीय पहिचानसँगै कवि बनेर उहाँ जनस्तरको पहिचानमा उद्घाटित हुनभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै सङ्ग्रहको शनिबार विमोचन गर्नुभएपछि नेपाली साहित्यिक फाँटमा कवितासङ्ग्रहको भण्डार थप भरिएको मात्र छैन, तुलनात्मक रूपमा कमै रहेका नेपाली महिलाको सर्जकको सङ्ख्या पनि थपिएको छ।

सङ्ग्रहका कविता र कवि राणाको मन्तव्यीय भूमिकाबाट स्पष्ट हुन्छ उहाँमा कवित्वको विशाल राशि थियो, जीवनका अनेक कुना, कन्दरामा ती राशिका अंश विगदेखि छचल्किँदै, प्रवाहित हुँदै र सिञ्चन हुँदै आएका थिए। अहिले आएर ती बुँदाहरूले आकार लिन पाए। अक्षर हुन पाए। कविता हुन पाए। शब्दका कालिगड राणाले अक्षरलाई आकार र आकारमा अस्तित्व भर्नुभएको छ।

कविता (पद्य)मात्र होइन गद्यलाई पनि कवि राणा कविता बनाउने क्षमता राख्नुहुन्छ। उहाँ सङ्ग्रहमा बोल्नुहुन्छ ‘जब भावनामा इन्द्रेणी पथ्र्यो, जब ईश्वरको कृपा हुन्थ्यो, जब फूलहरू मुस्कुराउँथे, कविता अकस्मात आउँथ्यो।’ यो उहाँको बोलाइ नै कवित्वको प्रस्तुति र प्रमाणीकरण हो। वि.सं. २०२५ देखि २०७८ सालसम्म डायरीमा सङ्गृहीत भावना २०७९ मा आइपुग्दा कविता भएका छन्।

कवि राणाले कवितामा रुख, हिमाल, बादल, फूल, पानी, झरना, रात र चराको लय गाउनुभएको छ। मायाको परिभाषालाई सुन्दर भाष्य गर्नुहुन्छ।

अन्धकार रातमा चम्कने बिजुलीसँग

किन मोहित हुन्छस् ए मयूर!

त्यही प्यारो प्रियतमा

तेरो शरीरमा बज्री

तलाई जलाई

बेपत्ता हुने छ नभमा। (मयूर)

‘जीवनका उकाली ओरालीहरूमा ठेस लाग्थ्यो, यात्रामा जब काँडाहरू भेटिन्थे, दुःख र वेदना देख्थेँ मेरो परेलीहरू पनि रसाउँथे। अनि कविता लेख्न प्रेरित हुन्थेँ …..’ कवि राणाले कविता लेखनको प्रेरक र प्रेरणा जीवन तथा जगत्लाई बनाउनुभएको छ। कवितामा उहाँले प्रतीक र विम्बको यस्तो संयोजन गर्नुभएको छ, जसले उहाँमा रहेको सौन्दर्य चेत र प्रेमको अनुभूतिलाई निःसृत गर्छ।

तिमी ज्यादै गहिरिएर ममा छाएछौ क्यारे!

त्यसैले

हिजो राति मस्त निद्राबाट

तिमीलाई सम्झेर

म बिउँझेछु क्यारे!  (गहिराइ)

कर्टन अफ माया (अङ्गे्रजी कवितासङ्ग्रह ) नेपाली–अङ्ग्रेजी कविता लेखनमा नयाँ र विशिष्ट प्रयोग हुन सक्छ। साधारण शब्दमा मायाको पर्दा भनिए पनि यसलाई मायाको छाँया, मायाको विम्ब वा मायाको दृश्य भनेर बुझ्न सकिन्छ। यसमा अङ्ग्रेजी दुई शब्द र नेपाली माया शब्दको फ्युजन गराइएको छ। यो एउटा विशिष्ट प्रयोग हो।

तिमिसँग हुँदा म आफूलाई भुल्छु,

दुनियाँ बिर्सन्छु

मभित्र खुसीबाहेक केही देख्दिन,

तर पनि रातमा

म एक भयानक

दुःस्वप्नबाट ब्यूँझन्छु (फरगट यु)

समग्रमा कवि राणाले कविताको आँखामार्फत ‘म’बाट हामीलाई हेर्नुभएको छ। गहिराइबाट उचाइ देख्नुभएको छ।

तपाईको प्रतिक्रिया