बनियानी, साउन २७ : झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।
शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
पोखरीमा डुबेर एकजनाको मृत्यु
रामपुर- पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।
मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । उनको जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
सिमकोट- कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भिरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।
सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।






