नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : प्रचण्ड

  साउन २५, २०७९

काठमाडौं, साउन २५ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली,  पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताउनुभयो ।

जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुसँग विभिन्न विषयमा राम्रो वातावरणले विचार आदानप्रदान र सहयोग अभिवृद्धि गर्ने छलफल भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जापानको विकास र प्रगति, लगानी पनि बढोस् । हाइड्रो, पर्यटन, कृषि, शिक्षा, भौतिक पूर्वाधार विकास सम्बन्धमा राम्रो वातावरणमा विचार र सहयोग आदानप्रदान अभिवृद्धि गर्ने कुरा भयो ।”

डाक्टर, वैज्ञानिक, परराष्ट्रमन्त्रीमार्फत र उच्चस्तरकै कार्यक्रममा जहाँ जाँदा पनि सबै प्रक्रियामा नेपालको भूमिका निकै सकारात्मक भएको उहाँले जानकारी दिनुभयो । जापान भ्रमणले दुई देशबीच नयाँ प्रक्रियाको सुरुवात भएको उहाँको भनाइ छ ।

आफ्नो भ्रमणले जापानमा रहनुभएका नेपाली धेरै खुसी हुनुभएको अनुभव उहाँले सुनाउनुभयो । जापानका सत्तारुढ दलका वरिष्ठ नेताहरुसँग भएको औपचारिक वार्तामा द्वीपक्षीय सम्बन्ध र जापान अग्रणी साझेदार रहेको कुरामा विमर्स भएको उहाँले बताउनुभयो ।

देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र जापानको पनि नेपाल भ्रमण होस् भनेर आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालको भ्रमण होस् भनेर आमन्त्रण ग-यौं । सम्भवत, आउनुहुन्छ भन्ने बुझेको छु । फोहोर व्यवस्थपनमा तत्काल सहयोग चाहियो भन्ने कुरा पनि भएको छ ।” समग्रमा, नेपाल र जापानबीच ठोस–ठोस के के विषयमा सहकार्य गर्ने भन्नेमा छलफल भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया