वर्षौंदेखि थन्किाएका विद्युतीय गाडी दशैंअघि नै चलाइने

  साउन २५, २०७९

भैरहवा, साउन २५ : वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा विद्युतीय गाडी सञ्चालनसम्बन्धी कार्यविधि बनाउने र यसबारे प्रतिवेदनसमेत पेश गर्ने गरी जेठ १९ गते कार्यदल बनाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

कार्यदलले अहिले विभिन्न चरणको कामहरु गरिरहेको छ । बौद्ध परिपथमा विद्युतीय गाडीहरु कसरी सञ्चालन गर्ने, चार्जिङ्ग स्टेशन कहाँ राख्ने, कुन मोडेलमा सञ्चालन गर्नेलगायतका विषयमा विभिन्न छलफल भइरहेको सदस्य सचिव शाक्यले बताउनुभयो ।

शाक्यका अनुसार विद्युतीय गाडीहरु कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडि बढाइएको छ । “अहिले गाडीहरुको नम्बर प्लेटको विषयमा अन्योल रहेको छ”–शाक्यले भन्नुभयो–“गाडीहरुमा हरियो नम्बर प्लेट, कालो नम्बर प्लेट अथवा अन्य राख्ने विषयमा छलफल भइरहेको छ ।”

यसको साथै गाडीहरु लुम्बिनी विकास कोषले आफै सञ्चालन गर्ने कि तेस्रो पक्षलाई सञ्चालन गर्न दिने भन्ने विषयमा पनि छलफलकै क्रममा रहेको उहाँले बताउनुभयो । कार्यदलका संयोजकसमेत रहेका कोषका कोषाध्यक्षले कार्यदलले यी सबै विषयमा कार्यविधि बनाई प्रतिवेदनसमेत पेश गर्ने बताउनुभयो । उहाँले जिम्मेवारी प्राप्त गरेदेखि नै समितिले काम सुरु गरेको बताउँदै भदौको पहिलो सातासम्म प्रतिवेदन र कार्यविधि बोर्डलाई बुझाउने बताउनुभयो ।

“कार्यदलले पहिलो काम विद्युतीय गाडीहरुको अवस्था बुझ्ने काम गरेको छ”–कार्यदल संयोजक भट्टराईले भन्नुभयो–“पाँचवटा भ्यान र पाँचवटा बस समय समयमा सञ्चालन भई आएकाले ठीक अवस्थामा छन्, बाँकी नौवटा भ्यानको ब्याट्री डाउन भएको छ ।”

यसको मर्मतका लागि सप्लायर्सलाई भनेको बताउँदै उहाँले गाडीहरुको बिमा र यसको नम्बर प्लेटको बारेमा अध्ययन गरिरहेको बताउनुभयो । सँगै बसको रुट परमिटको बारेमा पनि छलफल चलाइएको भट्टराईले बताउनुभयो । उहाँले बौद्ध परिपथमा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनी सम्म बस सञ्चालन गरिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

“साउनमै सबै काम सकिएर भदौको पहिलो साता प्रतिवेदन पेश गर्नेछौं”–उहाँले भन्नुभयो–“दशैं अगावै वा ढिलो भए पनि घटस्थापनाको दिनमा उदघाटन गर्नेछौं ।” उहाँले सुरुमा अफिसियल रुपमा सञ्चालन, त्यसपछि परीक्षण र दशैं अगावै औपचरिकरुपमा सुरुवात गर्ने योजना रहेको बताउनुभयो ।

एडिबीको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ वटा विद्युतीय भ्यान र पाँचवटा विद्युतीय बस प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपियाँ भन्सार शुल्क व्यहोरेको छ ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र भ्यान ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फूल चार्ज गरे चार सय किलोमिटर सम्म गुड्छ ।

तपाईको प्रतिक्रिया