साहित्यकार तिवारीको कृतिमा चलचित्र ‘झिङ्गेदाउ’को मुख्य अंश सार्वजनिक

  साउन २२, २०७९

काठमाडौँ, साउन २२ : वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको छ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको चलचित्र निर्माण सम्पन्न भएपछि त्यसका केही महत्वपूर्ण अंश आज प्रदर्शन गरिएको हो । यसअघि निर्देशक देउजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘मुनामदन’को निर्देशन गर्नुभएको थियो ।

वरिष्ठ छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गर्नुभएको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म क्र्यु नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा उक्त चलचित्र करिब चार वर्षको समयावधि तथा रु दुई करोडको लागतमा निर्माण भएको हो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न मौलिक कथामा आधारित विषयवस्तु छनोट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ निर्देशक देउजाले कृतिको भावनाका साथै मर्मलाई प्रतिविम्बित हुने गरी चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । नायिका अधिकारी र शर्माले साहित्यकार तिवारीको ऐतिहासिक कृतिमा आधारित भई तत्कालीन सामाजिक परिवेशलाई अभिनयका माध्यमबाट दर्शकसामु ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो । उक्त कार्यक्रममा कलाकारले अभिनयका क्रममा प्राप्त गरेका अनुभवबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया