दश कर्मचारीविरुद्ध २८ लाखभन्दा बढी भ्रष्टाचारको आरोप

  साउन २२, २०७९

काठमाडौं, साउन २२ : विभिन्न गाउँपालिकाका कर्मचारीले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । आयोगले १० जना कर्मचारीले झण्डै २८ लाख रुपियाँ भ्रष्टाचार गरेको भन्दै अलग–अलग मुद्दा दयार गरेको हो ।

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित अन्य कर्मचारीहरुमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपितहरुले आर्थिक वर्ष २०७६-७७ मा गाउँपालिकाको विभिन्न योजनाहरु आफू अनुकूल बनाई २१ लाख ४७ हजार ४९२ रुपियाँ रकम आर्थिक अनियमितता गरेको उल्लेख गरिएको छ ।

अधिकृत प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीले गैरकानुनी लाभ लिएको र गाउँपालिकालाई क्षति पु¥याएको आयोगले जनाएको छ ।

यस्तै, मुगुको छायाँनाथ राराको तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, सव–इन्जिनियर गोर सिंह बडुवाल र असिस्टेण्ट सव–इन्जिनियर सिहमाल कुमार मल्ल उपर ६ लाख ३२ हजार ६७७ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ ।

आरोपितहरुले वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको टुजेमीदेखि बाबुकाँधसम्मको पर्यटन पदमार्ग निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्यलाई गैरकानुनी लाभ लिने बदनियतले सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो ।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीलाई सुपरीवेक्षकले गरेकोभन्दा बढी कार्य गरेको भनी गैरकानुनी लाभ लिएको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया