अरिंगालले टोकेर कर संकलकको मृत्यु

  साउन २२, २०७९

रुकुम पश्चिम, साउन २२ : रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका अन्तर्गत कर संकलन केन्द्र झुल्नेटामा कर संकलक पदमा कार्यरत सुवर्ण सुनारको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुनारको अरिंगालको टोकाईको कारण मृत्यु भएको बताईएको छ । तीन दिन अगाडी अरिंगालले टोकेका सुनारलाई आइतबार उपचारका लागि नेपालगन्ज लैजादै गर्दा मृत्यु भएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार सुनार शुक्रबार साथीहरुसंग सल्यानको बाँफुखोलामा अरिंगाल झार्न गएको बेला अरिंगालले टोकेका थिए ।

अंरिगालले टोकेपछि तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार भैरहेको र स्वास्थ्य अवस्था बिग्रदै गएपछि नेपालगन्ज रिफर गरिएको थियो । थप उपचारका लागि नेपालगन्ज लैजादै गर्दा सल्यानको श्रीनगरमा उहाँको मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ । उहाँको शरिरमा ५० भन्दा बढी ठाउँमा अरिंगालले टोकेका घाउ थिए ।

खेलकुद विकास समिति त्रिवेणीका सचिव समेत रहनुभएका सुनार जिल्लाकै उत्कृष्ट भलिबल खेलाडी र रेफ्री समेत हुनुहुन्थ्यो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्माले जिल्ला एक होनहार भलिबल खेलाडी गुमाएको बताउँनुभयो । मिलनसार र लगनशिल खेलाडिको असमायिक निधनले खेलक्षेत्रलाई हानी पुग्ने अध्यक्ष शर्माले उल्लेख गर्नुभयो

तपाईको प्रतिक्रिया