कपिलवस्तुमा पशु चौपाया व्यवस्थापन गर्न चुनौती

  साउन २२, २०७९

कपिलवस्तु, साउन २२ : कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् ।

कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् ।

छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् ।

सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञनेन्द्र शर्माले बताउनुभयो । पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थान गर्न उहाँले आग्रह गर्नुभयोे ।

किसानले आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको शिवराज नगरपालिका– ३ का सलिम खाँनले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो  तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।

मधेश मानव अधिकार गृहका पूर्वअध्यक्ष रवि ठाकुरले भन्नुभयो पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस् कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीकोरुपमा देखिएको छ । छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामले बताउनभुयो । पशुचौपायाको व्यवस्थापनका लागि महाराजगन्जमा गौशाला निर्माण भइरहेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया