बारा–पर्सा उद्योग सङ्घ गठन

  साउन १७, २०७९

काठमाडौँ, साउन १७ : आर्थिक वृद्धि एवम् लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसङ्घ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमार्फत नेपाल उद्योग परिसङ्घले बारा–पर्सा उद्योग सङ्घ गठन गरेको छ । सङ्घको अध्यक्षमा वीरेन्द्र सङ्घाइ रहनुभएको परिसङ्घले जनाएको छ । परिसङ्घले सङ्गठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग सङ्घ गठन गरेको हो ।

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताउनुभयो । उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो ।

उद्योगको स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उहाँले वीरगन्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराउनुभयो ।

“सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेस प्रदेश रहेको छ । यहाँका युवाहरुलाई उचित तालिमको व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

सम्मेलनमा नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेस प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेस प्रदेशमा ल्याउन सक्ने बताउनुभयो ।

त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेस प्रदेशका उद्योगले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।

परिसङ्घका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताउनुभयो । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजिकरण आवश्यक पर्ने भन्दै उहाँले निजी क्षेत्रलाई नयाँ कानुन र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले मधेस प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताउनुभयो । यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्वपूर्ण ‘प्लेटफर्म’ भएको उहाँको भनाइ थियो ।

“आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसँग मिलेर काम गरिरहनु पनि उत्तिकै जरुरी छ । नेपाल उद्योग परिसङ्घले आर्थिक वृद्धिका लागि प्रान्तीय सरकारसँग मिलेर गरिरहेको काम प्रभावशाली छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया