पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध

  साउन १७, २०७९

गोरखा, साउन १७ लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो “माथिबाट पहिरो खसेर दुईतर्फ नै सडक अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “पहिरो पन्छाउन प्रयास भइरहेको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको छ ।” पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिनुभयो ।

गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताउनुभयो । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम भइरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया