ललितपुर, साउन १६ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टअन्तर्गतको कला र डिजाइन विभागले आजदेखि बबरमहलस्थित कलापरिषद्मा छ दिने कलाकृति प्रदर्शनी सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले आज संयुक्तरूपमा उक्त प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख महर्जनले ललितपुर महानगरपालिका कलाका क्षेत्रमा प्राचीन र प्रसिद्ध सहरका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रदर्शनीबाट घरमा काम नलाग्ने भनी फालिएका कपडाको समेत कलाकृतिमा प्रयोग गरेको देख्दा कपडाको महत्व हरेक वस्तुमा रहने ज्ञान प्राप्त गरेको छु ।”
सो प्रदर्शनीमा कपडा तथा माटा एवं काठबाट बनेका वस्तु देखाइनाका साथै चित्रकला समेतलाई उजागर गरिएको महर्जनले सुनाउनुभयो । उपकुलपति थापाले सो कलाकृति प्रदर्शनीले विद्यार्थीमा कला तथा चित्र कोर्ने काममा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउनुभयो ।
उक्त प्रदर्शनीमा २८ बालबालिकाका कृतिलाई उपस्थित महानुभावसमक्ष देखाइएको थियो ।