तेहरान, साउन ४ : अमेरिकाले इरानको आर्थिक हित सुनिश्चितताको प्रत्याभूत गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ को आणविक सम्झौता कार्यान्वयनका निम्ति अमेरिकाले तेहरानको आर्थिक हित सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो ।
कतारको राजधानी दोहामा हालै इरान र अमेरिकाबीच भएको अप्रत्यक्ष वार्ताका सन्दर्भमा आज यहाँ भएको पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले आफ्नो देशको आर्थिक हितको सुनिश्चितताका लागि अमेरिकाले राजनीतिक निर्णय गर्नुपर्ने बताए ।
उनले दोहा वार्ता असफल भएको पश्चिमा देशका सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणको खण्डन गर्दै उक्त वार्ता सकारात्मक रहेको तथा त्यसले संवादको निरन्तरताका निम्ति बाटो खोलेको दाबी गरे । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेल र इरानी पक्षले अर्को चरणको वार्ताको निरन्तरताका लागि आधार तयार गरेको प्रवक्ता कनानीले बताए ।
सन् २०२१ को एप्रिल यता इरान र आणविक सम्झौताका बाँकी पक्षबीच भिएनमा आठ चरणमा वार्ता भएका जानकारी दिँदै उनले सम्झौता कार्यान्वयन गर्न इरानमाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्ने अडान दोहो¥याए ।






