काठमाडौं, असार २९ : गैरआवासीय नेपाली संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्ष डा. बद्री केसी नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीसँग आज भेटघाट गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताउनुभयो । संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताका लागि भएको व्यवस्थाअनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराउनुभएको अध्यक्ष आचार्यले बताउनुभयो ।
सो अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायतका पदाधिकारीले विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमका लागि धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधि, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयकातर्फबाट अधिकृत कुनाल मिश्रालगायतको उपस्थिति रहेको थियो ।