विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख

  असार २६, २०७९

काठमाडौँ, असार २६ : सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभुल्न पनि आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाद्वारा जारी सन्देशमा भनिएको छ, “फरकफरक जातजाति र धर्मावलम्बीले आफ्ना मौलिक रीतिरिवाज एवं चाडपर्व मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्वित भइरहेका छन्, नेपाली पनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको छ ।”

सामूहिकरुपमा नमाज पढेर र आफन्त तथा प्रियजनसँग शुुभकामना साटासाट गरी मनाइने यो पर्वले शान्ति र भाइचाराको सन्देश दिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । बकर इद पर्वले हामीबीच मजबुत राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि सभामुख सापकोटाले व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया