पौवादुङमा जिल्लाकै पहिलो खोप सुनिश्चितता स्थानीय तह घोषणा

  असार २०, २०७९

भोजपुर, असार २० : भोजपुरको पौवादुङमा गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा भएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो गाउँपालिका खोप सुनिश्चता भएको पहिलो गाउँपालिका बनेको छ । सोह्र महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको हो । एक सय ४३ जनाको घरमा नै पुगेर बालबालिकाको खोपको अवस्था बुझ्दा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।

प्रमुख उपाध्यायले भन्नुभयो, “हाम्रो गाउँपालिका जिल्लामा नै पहिलो खोप सुनिश्चितता स्थानीय तह बनेको छ । तोकिएको मापदण्ड पूरा भएकाले घोषणा गरेका हौँ । यसलाई हाम्रो स्वास्थ्य क्षेत्रका लागि निकै राम्रो उपलब्धिका रुपमा लिएका छौँ ।”

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष किरण राईले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।अध्यक्ष राई भन्नुभयो, “ नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले योजनाबद्धरुपमा काम गरिरहेको छ । नीति तथा कार्यक्रममा नै सुत्केरी तथा गर्भवती, नवजात शिशुलाई बाहिरका अस्पतालमा लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा दिन्छौँ ।

पौवादुङमा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशमा एकमा पहिलो भएको गाउँपालिका हो । गाउँपालिको गर्भवती एवं सुत्केरी महिला र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरीपूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालन भइरहेको छ । सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ । यो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पैसा समेत दिइएने बताइएको छ ।

षडानन्दले एम्बुलेन्स सञ्चालनमा ल्याउने

जिल्लाको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख सुरेन्द्रकुमार उदासले आइतबार आफ्नो नगरमा आउने एम्बुलेन्सको चाबी बुझ्नुभएको हो । भारतले नेपाल सरकारलाई ७५ वटा एम्बुलेन्समध्ये एउटा षडानन्द नगरपालिकाले ल्याउन सफल भएको हो ।

नगरप्रमुख उदासले भन्नुभयो, “ खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भए पनि अहिले माथि पहल गरेर एम्बुलेन्स ल्याउन सफल भएका छौँँ । त्यसका कारण अब एम्बुलेन्समा खर्च हुने बजेट विकासमा निर्माणमा लगाउँछौँ ।” कार्यविधि बनाएर सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई सहज हुनेगरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।

तपाईको प्रतिक्रिया